भ्रमशिरोमणीको नयाँ अवतारमा भीम रावल : अजयबाबु शिवाकोटी
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
713
Shares
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले गरिवीमुक्त समृद्ध समाज बनाउनका लागि कम्युनिष्टमुक्त समाज बनाउन आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस धादिङ थाक्रे गाउँपालिका वडा नम्बर १० केबलपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता शिवाकोटीले नागरिकलाई गरिवीमै राख्दा आफू फस्टाउने सोच राख्ने कम्युनिष्टहरुसँग सर्तक रहन आग्रह गरे ।
आफ्नो स्वार्थको लागि नागरिकलाई गरिवीको दुष्चक्रमा राखिरहने कम्युनिष्टबाट मुक्ति पाए मात्रै समृद्धिको यात्रा अघि बढ्ने उनले बताए । समाज कम्युनिष्टबाट मुक्त भएमा गरिवीबाटसमेत मुक्ति हुन सक्ने बताउँदै उनले कम्युनिष्टमुक्त समाज बनाउन आवश्यक रहेको टिप्पणी गरे।
पोखरा विमानस्थलको निर्माणका लागि उत्तरी छिमेकीबाट ल्याइएको ब्याज अन्तर्राष्ट्रिय मापदण्डको सबैभन्दा महंगो ब्याज भएको उनले बताए । २५ वर्षमा यो व्याज करिब ३ सय प्रतिशत पुग्न सक्ने उनको चिन्ता छ ।
धादिङ र काठमाडौं जोड्ने सुरुङमार्ग बनाउन लिइएको ऋणको ब्याज ०.१ प्रतिशत मात्रै रहेको नेता शिवाकोटीले बताए । कम्युनिष्ट देशबाट लिएर कम्युनिष्टले ठेक्का पाउनकै लागि २ सय गुणासम्म महंगो ऋण लिएर देशलाई ऋणको पासोमा पार्न खोजेको उनको आरोप छ ।
एमाले नेता डा. भीमबहादुर रावल सहितका केही नेताले एकपछि अर्को विषयमा जनतालाई दिग्भ्रमित पारेर भ्रम छरेको टिप्पणीसमेत उनले गरे। रावल आफैं रहेको क्याबिनेटले एमसीसीको निर्णय गरे पनि अहिले भ्रम छर्ने काम मात्रै गरेको भन्दै शिवाकोटीले उनी भ्रमशिरोमणीको नयाँ अवतारमा उदाएको बताए ।
शिवाकोटीले समाजमा बेथिति निम्त्याउन र भ्रष्टाचार गर्न कम्युनिष्ट नै अगाडि रहेको बताउँदै कम्युनिष्टमुक्त समाज बनाउनु आजको आवश्यकता रहेको बताए ।
कार्यक्रममा नेता शिवाकोटीले विभिन्न पार्टीबाट आएका करिब तीन दर्जन नेता एवं कार्यकर्ताहरुलाई पार्टी सदस्यता दिएर कांग्रेसमा प्रवेश गराएका थिए ।