arrow

एमालेले एक्लै चुनाव लड्छ, ०७४ को भन्दा बढी नै सिट ल्याउँछौँ : रघुवीर महासेठ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
raghubi-minister.jpg

काठमाडौं । नेकपा (एमाले) का सचिव रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै लड्ने घोषणा गरेका छन् । उनले सबै दल मिलेर गठबन्धन बनाएर चुनाव लडे पनि एमालेको विजय कसैले रोक्न नसक्ने दाबी गरे ।  आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आगामी तीनै तहको निर्वाचनमा एमालेले बहुमत हासिल गर्ने पनि दाबी गरे । 

उनले भने,‘एमालेले निर्वाचनमा गठबन्धन बनाउने सोचेको छैन । अहिलेसम्म हामीले एक्लै निर्वाचनमा जाने सोच बनाएका छौं। एमालेको लोकप्रियता जनताको बीचमा छ । एमालेले सरकारमा हुँदा देश र जनताको लागि जुन काम गरेको थियो, ती काम लिएर हामी जनताको बीचमा जान्छौँ । हामीले गरेका कतिपय कामको कारण जनताको बीचमा एमाले लोकप्रिय छ । २०७४ को निर्वाचनमा झैँ जनताले विश्वास गरेर हामीलाई जिताउनेछन्। स्थानीय तहको निर्वाचनमा गठबन्धनमा विचार गर्छौँ। 

अहिले सत्ता गठबन्धन सबै मिलेर आए पनि एमालेलाई खास फरक पर्दैन। एमालेको २०७४ सालको निर्वाचनको भन्दा कम सिट आउँदैन, बरु बढी नै आउँछ ।’

 उनले देश निर्वाचनमय भैसकेको पनि उल्लेख गरे । उनले भने,‘आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ। यद्धपी जनतामा अहिले यो निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशङ्का छ ।’ उनले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई परमादेशबाट हटाउने काम भएको उल्लेख गर्दै कतै चुनावको मुखमा आएर सम्मानित सर्वोच्च अदालतबाट निर्वाचन रोक्ने काम त हुँदैन भन्ने आशङ्का जनताले गरेको टिप्पणी गरे । 

उनले भने,‘यसमा मेरो भनाई के छ भने एक त जुन प्रकारले सर्वोच्च अदालतबाट परमादेश दिने काम भयो, यसलाई मान्न त मान्यौँ । यो परमादेश जनताको भावना विपतिर थियो । परमादेश जारी गर्दा जुन सर्त राखेर जारी गरियो, अहिलेको सरकारले संसद भङ्ग गर्ने कुरा पनि गरिरहेको छ, काँग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) का नेताहरूले सममयभन्दा अघि नै चुनाव हुने कुरा गरेका छन् । अहिले ओली सरकारले त्यति वेला संसद् भङ्ग गरेर निर्वाचन घोषणा गरेको कुरा सही रहेछ भन्ने पुष्टि हुँदै छ ।’

उनले सर्वोच्च अदालतबाट जनताको भावना विपतिर निर्णय नहुने विश्वास दिलाए । उनले भने,‘फेरि पनि अदालतले निर्वाचन रोक्ने निर्णय गर्‍यो भने नेपाली जनता सडकमा आउन बेर छैन । म न्यायाधीशहरूलाई पनि के अनुरोध गर्न चाहन्छु भने सर्वोच्च अदालतको मर्यादाभित्र हुने काम, न्यायपालिकाको निर्णय पनि हो । कुनै पनि बहानामा निर्वाचन रोक्ने काम नहोस् ।’

महासेठले प्रतिनिधिसभाको निर्वाचन छिटोभन्दा छिटो होस भन्ने धारणा पनि राखे । उनले भने,‘न अहिले संसद् अघि बढ्न सकेको छ, सरकार स्वयम अनिर्णयको बन्दी भएर बसेको छ । सरकार आफै अर्ली ईलेक्शनमा जान्छ भने, मेरो भनाई के छ भने परमादेश जारी गर्दा जुन सर्त राखेर देउवाजीलाई प्रधानमन्त्री नाउनु भनिएको छ । आफ्नो अनुकूल भएन भने भङ्गको विरुद्धमा मुद्दा लिएर जाने अनि अनि आफ्नो अनुकूल भयो भने भङ्ग गर्ने, यस्तो काम सरकारले नगरोस् ।’

उनले एमसीसीबारे आफ्नो पार्टीको कुनै आधिकारिक धारणा नआएको उल्लेख गरे । उनले एमसीसी सदनबाट पारित भएसँगै यसबारेको बहस अहिले सकिएको पनि बताए । उनले भने,‘एमसीसी पारित भैसकेको छ। पास गर्ने बेलामा हामीसँग कुनै छलफल गरिएन । एमालेलाई बाइपास गरेर बहुमतको आधारमा सत्ता पक्षका साथीहरूले बलमिच्याँई गरेर पास गर्नुभयो । एमसीसी पास गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा पनि सदनबाट पारित भएको छ, यो व्याख्यात्मक घोषणा नक्कली कुरा थियो । न त त्यसलाई एमसीसीले अहिले मान्यता दिएको छ, न भोलिका दिनमा पनि दिन्छ नै ।’

उनले माओवादी केन्द्रको आधिकारिक निर्णय त एमसीसी राष्ट्र घात छ भन्ने रहेको उल्लेख गरे । उनले भने,‘तर, प्रचण्डले डबल स्ट्याण्डर्ड रोल प्ले गर्नुभयो । यो कार्यान्वयन कहिलेदेखि हुने ? भनेर किन यो व्याख्यात्मक घोषणामा यो कुरा राखिएन ? एमसीसी अघि बढाउनको लागि भारतको पनि स्वीकृति चाहिन्छ । कहीँ एमसीसीलाई महाकालीजस्तै वर्षौँसम्म कुरेर बस्नुपर्ने होइन ? एमसीसी पास भएपछि मैले यसलाई सम्मान गर्नुपर्छ। तर, प्रचण्ड र माधव नेपालले जनता ठग्ने कुरा गर्नुभयो।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ