arrow

ओलीले सुनाए महाभारत : जनादेशी र परमादेशीबीच लडाइँ जारी छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
Kp oli pokhara nepal.jpg

पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको गौरव र स्वाभिमानलाई कायम राख्दै देशलाई नोक्सान पर्ने गरी कसैसँग व्यवहार, लेनदेन र क्रियाकलाप नगर्ने उद्घोष गरेका छन् ।

देशको हितमा मात्र काम गर्ने भन्दै अध्यक्ष ओलीले बैङ्क लुट्ने, हातखुट्टा भाँच्ने, अपहरण गर्ने र कसैलाई मार्ने जस्ता गलत क्रियाकलापमा नलगाई राष्ट्र निर्माणमा लगाउन नेता तथा कार्यकर्तालाई  निर्देशनसमेत दिए । पोखरामा मङ्गलवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सत्यको पक्षमा जनादेशी र असत्य शक्ति परमादेशीबीच लडाइँ चलिरहेको बताए । 

इतिहास र शास्त्रमा कहिले राम र रावण, कहिले कृष्ण र कंस त कहिले कौरव र पाण्डवबीच विभिन्न समयमा सत्य र असत्यको लडाइँ चलेको भन्दै उनले अहिले भने परमादेशी र जनादेशी शक्तिबीचको लडाइँ लड्नुपर्ने अवस्था आएको बताए । 

आजको असत्यचाहिँ बडो रोचक ढङ्गले प्रकट भइरहेको भन्दै अध्यक्ष ओलीले असत्यको प्रतिनिधित्व गर्ने शक्ति परमादेशी र जनताको जनादेशको पक्षमा जान खोज्ने, जनताको पक्षमा लड्ने शक्ति एमाले सत्यको पक्षमा रहिरहेको बताए । 

महाभारतको लडाइँमा लड्न गएका अर्जुन धनु वाण फालेर रुँदै बस्दा कृष्णले ‘जसले तिमिमाथि प्रहार गर्दै छ‚ उसलाई आफन्त भन्ने भ्रम छाडेर युद्धमा होमिन’ आग्रह गरेको प्रसङ्ग जोड्दै उनले नेता कार्यकर्तालाई सत्यको पक्षमा लड्न आह्वान गरेका हुन् ।

धेरै योद्धाहरूले अभिमन्यूलाई घेरेर मारेको उदाहरण दिँदै अध्यक्ष ओलीले सत्यको पक्षमा लड्दालड्दै पनि युद्धका नियम तोडिएको तर आफूहरू लडाइँ र खेलको नियम नतोडी प्रतिस्पर्धी ढङ्गले प्रस्तुत हुने स्पष्ट पारे ।

महाभारतमा वर्णित युद्धको उदाहरण दिँदै उनले आजको सन्दर्भमा लोकतन्त्रका मूल्यमान्यता, आधारभूत नियम, सिद्धान्तअनुसार राजनीतिक मैदानमा उत्रिने बताए । परमादेशीहरूले सरकार ढल्ला भनेर नियम उल्लङ्घन गरेको भन्दै उनले सरकार नभई आफूहरूको गन्तव्य सुखी नेपाली र समृद्ध नेपाल रहेको जनाए ।

‘हामीले खोला, खोल्सी, फोहोर, नाली अनेक मिसायौँ‚’ उनले भने, ‘त्यसले पानी कहिँकहिँ कालो कालो देखियो । त्यसको अवशेष अहिले पनि बाँकी छ ।’ एमालेमा लागेर पद र अवसर पाइनँ भन्ने गुनासो आएको भन्दै उनले सबैले अवसर पाउने दाबी गरे । ओलीले भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न र सार्वभौमसत्ताको रक्षाका लागि एमालेले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।

कार्यक्रममा अध्यक्ष ओलीले जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधानसभा सदस्य बिडी नेपालीसहित चार सय जना नेता कार्यकर्तालाई नेकपा एमाले प्रवेश गराएका छन् ।

सुवेदी र नेपालीसहित संविधान सभा सदस्य कशिम अलि सिद्धिकी, जसपा केन्द्रीय सदस्यसमेत रहेका समाजवादी दलित मुक्ति महासङ्घका अध्यक्ष रामबहादुर नेपाली, पार्टीको केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, मनकुमारी बुढा, राजन कार्की तथा पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा, पर्वतका जिल्ला अध्यक्ष नवीन पुन लगायत एमाले प्रवेश गरेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ