- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका र माला लगाएर सरावगी एमालेमा प्रवेश गरेका हुन् ।
बाराको प्रसौनीमा शनिबार दिउँसो आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरावगीलाई पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेर वीरगन्ज महानगरको मेयरमा निर्वाचित सरावगी हालः जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य पनि थिए ।
व्यपारिक घारानाका उद्योगी सरावगीले २०७३ चैत ६ गते तत्कालीन संघीय समाजवादी फोरममा प्रवेश गरेर राजनीति यात्रा थालेका थिए । २०७४ को स्थानीय तहमा सरावगी १९ हजार ३ सय ९३ मत ल्याएर निर्वाचित भएका थिए । मेयरमा निर्वाचित भएको दुई वर्ष नबित्दै सरावगीलाई आफ्नै पार्टीका नेताहरुबाट असहयोग हुन थालेको थियो ।
शनिबारमा प्रसौनीमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका वीरगन्ज महानगर इन्चार्ज बाबुराम कौशीक, वाइसिएलका केन्द्रीय सदस्य ओम प्रकाश गुप्ता पनि एमालेमा प्रवेश गरेका छन् ।
कार्यक्रममा पूर्वमन्त्रीद्वय प्रभु साह र रघुवीर महासेठ, एमालेका पर्सा जिल्ला अध्यक्ष प्रभु हजरालगायतको पनि उपस्थिति थियो ।