arrow

आगामी तीनै तहको चुनाव एमालेले जित्छ : डा. कंडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
Puspa Kandel pokhara.jpg

पोखरा । नेकपा एमाले धादिङ-पोखरा सम्पर्क मञ्चले शनिबार पृथ्वीचोकमा रक्तदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । मञ्चका कार्यसमिति सदस्य दिनेश तुलाधरलाई ब्लडव्याग हस्तान्तरण गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. पुष्प कंडेलले कार्यक्रम शुभारम्भ गरेका थिए ।

कार्यक्रममा नेता कंडेलले आगामी तीनै तहको चुनाव नेकपा एमालेले जित्ने दावी गरे । उनले अब गाउँ फर्किएर चुनावमा खटिन आग्रह गर्दै वडावडामा एमालेलाई जिताउनुपर्ने बताए । ‘तपाइँ पोखरामा रहनुभएका धादिङवासीहरु जिल्ला फर्किएर चुनावमा खटिनुहोस् । एमालेलाई जिताउन भूमिका खेल्नुहोस्’, उनले भने ।  

यो मुलुकको समृद्धि एमाले बाहेक कसैले गर्न नसक्ने भएकाले अबको चुनावमा पनि एमाले सबैभन्दा ठूलो दल बन्ने भन्दै उनले अन्य दलले जति गठवन्धन गरेपनि एमालेलाई केही फरक नपर्ने बताए । ‘नेकपा एमाले भनेको देश बनाउने पार्टी हो । जनताका समस्या समाधान गर्ने पार्टी हो । जनताका दुःख कष्टहरुलाई सम्बोधन गर्ने र तिनीहरुलाई हटाउने पार्टी हो’, उनले भने, ‘एमालेले देश बनाएरै छाड्छ, ढुक्क भएर भोट दिंदा हुन्छ ।’

नेता कंडेलले नेकपा एमालेले जनताको साथ लिएर जनताको हकहितका लागि राजनीति गरिरहे पनि गठबन्धनले आफ्नो स्वार्थपूर्तिका लागि राजनीति गरिरहेको बताए ।

उनले भने,‘राष्ट्रिय राजनीतिमा जुन खालका समस्याहरु देखा परेका छन्, यो राष्ट्रिय राजनीति नेशनल पोलिटिक्सको दुईवटा पोलमा परिणत भएको छ । यो दुर्भाग्य भन्नुहोस्, बिडम्बना भन्नुहोस्, दुईवटा पोलमा पोलराइज भएको छ । एउटा पोलको लिड नेकपा एमालेले गरेको छ । अर्को पोल गठबन्धनको पोल छ । यो गठबन्धनको बारेमा मैले केही भन्नुपर्दैन । गठबन्धनमा आबद्ध भएका विभिन्न नेता साथीहरुले प्रतिक्रिया व्यक्त गर्दै हुनुहुन्छ । त्यसलाई हेरे पुग्छ । आज राजनीतिभित्र जस्तो खालको विकृति, विसंगति देखापरेको छ ।’

नेपाली कांग्रेस धादिङ-पोखरा सम्पर्क समितिका सभापति लालप्रसाद पाठकले पोखरामा रहेका धादिङवासीले यो वा त्यो पार्टी भन्न आवश्यक नभएको बताए । 

धादिङवासीहरु एकतावद्ध हुन सकेमात्रै धादिङवासीको तमाम समस्या समाधान हुने भन्दै उनले धादिङ समाजमा भएका राजनीति कुनै पनि हालतमा ठीक नभएको र यस्ता रवैयाले समाज पनि सही ढंगले अघि बढ्न नसक्ने बताए । 

सभापति पाठकले हिजोका दिनमा भएका कमि-कमजोरीलाई समीक्षा गरेर आगामी दिनमा एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । 

मञ्चका अध्यक्ष शेरबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा धादिङ त्रिपुरा बाराही महिला समूहकी अध्यक्ष बबीता मल्ल, संस्थापक अध्यक्ष कृष्णबहादुर लम्साल, उपाध्यक्ष एवं कार्यक्रम संयोजक योगप्रसाद सापकोटा (नवराज), सचिव सरोज कुँवर र उपसचिव रामप्रसाद दुवाडीले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ