- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पछि हटेपछि फुट्नै लागेको पार्टी तत्कालको लागि जोगिएको छ । पार्टीलाई फुट्नबाट जोगाउन अध्यक्ष यादवले आफ्नो कार्यकारिणी अधिकार अरू दुई जना नेता बाबुराम भट्टराई र अशोक राईलाई बाँडेका छन् ।
यादवले अधिकार नबाँडेको भए चुनावअघि नै जसपालाई फुटाउने तयारी भएको थियो । यसको अगुवाई संघीय परिषद्का अध्यक्ष डा. भट्टराई, वरिष्ठ नेता राई, कार्यकारिणी समितिका सदस्य इस्तियाक राई, महेन्द्र यादव लगायतका नेताहरूले गरेका थिए ।
हालै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी हेडक्वार्टर गठन गर्ने निर्णय गरेको छ । साथै हेडक्वार्टरमा भट्टराई, यादव र राईलाई राखेको छ । पार्टीले गर्ने हरेक निर्णयमा यी नेताको सहमति र हस्ताक्षर अनिवार्य चाहिने निर्णय केन्द्रीय समितिको बैठकले गरेको हो ।
यो भनेको अध्यक्ष यादवले प्रयोग गर्दै आएको पार्टीको कार्यकारिणी अधिकार तीन जना नेतामा बाँडिएको हो । जसपाका कार्यकारिणी समितिका सदस्य रमेश यादवले अबदेखि पार्टीको कार्यकारिणी अधिकार पार्टीका तीन नेतामा बाँडिएको बताए । ‘अध्यक्ष (उपेन्द्र यादव) को अधिकार कटौतीको रुपमा नभइ कार्यकारिणी अधिकार तीन नेतामा बाँडिएको रुपमा बुझ्नु पर्छ’ उनले भने ।
यसअघि भट्टराई पक्षीय नेताहरुले भट्टराईलाई कार्यकारिणी समितिको अध्यक्ष बनाउन माग राख्दै आएका थिए । महन्थ ठाकुरले पार्टी छाडेपछि उनले ओगटेको पहिलो स्थानको कार्यकारिणी अध्यक्ष पद खाली छ । खाली भएको त्यस पदमा भट्टराईलाई राख्न असन्तुष्ट नेताहरुको जोडदार माग थियो ।
जसपाको विधानमै दुई अध्यक्षको व्यवस्था गरिएको छ । त्यसैले विधान अनुसार चल्न उनीहरुको माग थियो । तर यादव पक्षीय नेताहरु दुई अध्यक्ष राख्ने प्रणाली जसपामा मात्र नभइ सबै पार्टीमा असफल भएको तर्क राख्दै दुई जना अध्यक्ष राख्नै नहुने अडान राखेका थिए ।
यी दुई तर्कबीचको विवाद भित्रभित्रै निकै चर्किएको थियो । तर अध्यक्ष यादवले केन्द्रीय समितिको बैठकमा बीचको बाटो निकालेर पार्टीभित्रको विवादलाई तत्कालको लागि समाधान गरेका छन् ।
भट्टराई पक्षीय नेताहरुले राईलाई संघीय परिषद्को अध्यक्ष बनाउन तथा तत्काल केन्द्रीय समितिको बैठक बोलाउन उपेन्द्रसँग माग राखेका थिए । ‘उहाँ (अध्यक्ष यादव) ले पार्टीमा दुई जना कार्यकारिणी अध्यक्ष त राख्नु भएन तर दुई जना अध्यक्ष राखे सरह कार्यकारिणी अधिकार बाँड्नु भएको छ’ भट्टराई पक्षीय एक नेताले भने, ‘यो भनेको अध्यक्ष यादव एक स्टेप पछि हट्नु हो । यसले पार्टीभित्रको विवाद तत्कालललाई टुंग्याएको छ ।’
भट्टराई पक्षीय नेताहरुले राखेको अर्को माग पनि अध्यक्ष यादवले पूरा गरेका छन् । भट्टराई पक्षीय नेताहरुले राखेको माग अनुसार नै अध्यक्ष यादवले संघीय परिषद् तथा केन्द्रीय समितिको बैठक पनि बोलाएका छन् ।
केही दिन अघिमात्र संघीय परिषद तथा केन्द्रीय समितिको बैठक काठमाडौंमा सकिएको छ । केन्द्रीय समितिको बैठकले पार्टीलाई एक ढिक्का र झन् शक्तिशाली बनाइ चुनावमा परिचालन हुने निर्णय गरेको केन्द्रीय सदस्य अशोक यादवले बताए ।