arrow

एमाले केन्द्रीय कमिटी बैठक : ओलीले भने- एमाले कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
kp-oli-uml.PNG

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति रहँदै आएको बताएका छन् । आजदेखि राजधानीमा शुरु भएको पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति रहँदै आएको उल्लेख गर्दै उनले यसबारे कुनै भ्रम नपाल्न आग्रह गरे । 

“वर्तमानको जनादेश र राष्ट्रलाई अगाडि बढाउने नीति र व्यवहारका दृष्टिले एमाले मुलुकको सबैभन्दा ठूलो पार्टी हो”, उनले भने, “यो लोकतान्त्रिक आन्दोलनको पनि सङ्गठित इतिहासको विरासत बोक्ने पार्टी हो, एकता र एकीकरणको निरन्तरताको इतिहास बोकेको मूलधारको पार्टी हो भन्न अप्ठ्यारो मानिरहनु पर्दैन ।”

लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, भौगोलिक सुरक्षा र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै शान्ति सम्झौताका बाँकी कामलाई पूर्णता दिएर दिगो शान्ति स्थापना, सुशासनयुक्त विकाससहित मुलुकलाई समृद्धिमा लान कटिबद्ध हुनुपर्ने उनले बताए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले यस बैठकपछि पार्टी पूर्णतः स्थानीय तहको निर्वाचनमा होमिने भएकाले त्यसको तयारीका लागि जनपरिचालन, सङ्गठनात्मक र अन्य कामका बारेमा निर्णय गर्ने जनाए । 

स्थानीय तहको आशन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठक शुरु भएको बताइएको छ । बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन, प्रदेशका अध्यक्षहरुको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत कार्यसूची छन् । बैठक बिहीबारसम्म चल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ