- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठक आशन्न स्थानीय तहको निर्वाचनका लागि उत्साहका साथ लाग्न नेता-कार्यकर्तालाई निर्देशन दिँदै आज सम्पन्न भएको छ ।
बुधबारदेखि सुरु भएको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन छलफलसहित पारित गरेको छ भने विभिन्न ११ बुँदे कार्यसूचीमा निर्णय गरेको छ । सबै कार्यसूची सर्वसम्मतिले पारित गर्दै एकै लय तालका साथ जनताको घरदैलोमा जान र उनीहरुका समस्या बुझ्न बैठकले मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
बैठकको समापनका अवसरमा अध्यक्ष ओलीले आशन्न निर्वाचनलाई केन्द्रमा राखेर पार्टी पंक्ति परिचालन हुनुपर्ने, पार्टीलाई थप प्रभावकारी बनाउनुपर्ने, एउटै लय र तालमा जनताको घरदैलो जाने र जनताका समस्यासँग परिचित हुन निर्देशन दिएका थिए ।
बैठकले पार्टीका सार्वजनिक कार्यक्रममा कम्तीमा पाँच जना वक्ता रहने, माला र खादाको प्रयोगमा कमी गर्ने, कार्यक्रम छिटो, छरितो बनाउने र मञ्चमा वक्तालाई मात्र राख्नुपर्ने जस्ता निर्वाचन लक्षित कार्यक्रमका विषयमा निर्णय भएको एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
बैठकले स्थानीय तहको उम्मेदवारको ६ मापदण्ड पारित गरेको छ । यही चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्न तथा वडा कमिटीको हकमा वडाले सिफारिस गरेर गाउँ नगरपालिकाले, गाउँ नगरपालिकाको जिल्लाले सिफारिस गर्ने उल्लेख छ । प्रदेशले, महानगर र उपमहानगरको प्रमुख, उपप्रमुखको हकमा सम्बन्धित कमिटीको सिफारिसमा केन्द्र्रीय कमिटीले निर्णय गर्नेछ ।
बैठकले निर्वाचनको घोषणापत्रलाई चाँडै अन्तिमरुप दिन सचिवालयलाई अधिकार दिएको छ । पार्टीले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा (वैशाख ९ गते) सात सय ५३ स्थानीय तहमा एकैदिन देशव्यापी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने र सो दिवसलाई ज्येष्ठ कम्युनिष्टको सम्मानसहित सृजनात्मकरुपमा मनाउने निर्णय गरेको छ ।
निर्वाचन घोषणापत्र मस्यौदाका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, नेताहरु देवेन्द्र दाहाल, प्रभु शाह, मनोजजङ्ग थापा, युवराज खतिवडा, प्रभा बराल, डा दिनेशचन्द्र देवकोटासहितको कार्यदल गठन गरिएको छ । बैठकले विभिन्न विभागमा सदस्यको मनोनयन र पार्टीको वार्षिक कार्ययोजना पारित गरेको छ ।