arrow

लगन जुराइदिने विश्वासमा एमाले र माओवादी केन्द्रका सात नेता चीनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
uml-maobadi-new.jpg

काठमाडौं । वाम गठबन्धनको चर्चा–परिचर्चा चलिरहेका बेला एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको उत्तरी छिमेकी चीनतर्फको दौडधूप बढेको छ । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा एमाले टोली चीन गएको पाँच दिनपछि माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङको टोली शुक्रबार चीनतर्फ प्रस्थान गरेको छ ।

अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेता गुरुङ चीन गएको उनकी धर्मपत्नी तथा सांसद यशोदा सुवेदी गुरुङले जानकारी दिइन् । ‘एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उहाँ चीन जानु भएको हो, सोमबार फर्कने भन्नुभएको छ,’ उनले भनिन् । आफू पोखरामा रहेकाले अन्तर्राष्ट्रिय सम्मेलनबारे थप जानकारी नभएको सुवेदीले बताइन् । 

शुक्रबार बिहान ९ बजे माओवादी नेताहरू वर्षमान पुन, ओनसरी घर्तीमगर तथा देवप्रसाद गुरुङ पनि चीन प्रस्थान गरेका छन् । ‘जन्डिसको बिरामी उपचारको फलोअपका लागि उहाँहरू जानुभएको हो, सम्भवतः आइतबार-सोमबार फर्कनु हुन्छ,’ पुनका स्वकिय सचिव सन्तोष पुनले भने ।

एमाले उपाध्यक्ष पौडेल, स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल र प्रदेश सांसद मीना रखाल चीनमा छन् । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिकको अपरेसन एन्ड कल्चरल एक्सचेन्ज’ मा भाग लिन एमाले टोली चीन पुगेको हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग गठबन्धन गरेर स्थानीय तहको चुनावमा जान सक्ने संकेत गरेको तथा एमाले केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न विकल्प खुल्ला राखेको सन्दर्भमा एमाले र माओवादी केन्द्रका नेताहरू एकैपटक चीन जानुलाई फेरि एक पटक एमाले–माओवादीबीच एकता हुन सक्ने अनुमान गर्दा गलत नहुने राजनीतिक विश्लेषकहरूको बुझाइ छ । 

त्यतिबेला पनि चीनले एकताका लागि महत्वपूर्ण भूमिका खेलेको थियो । फेरि पनि नेताहरुको दौडधुप चीनतिर रहेकाले कम्युनिष्टहरु एक हुने कुरामा शंका वा विश्वास दुवै गर्ने ठाउँ छ । यसपालि पनि २०७४ सालको जस्तो चुनावी एकता र २०७५ को जस्तो पार्टी एकतामा चीनले अहम् भूमिका खेलेको जस्तै भूमिका खेलोस् भन्ने इच्छा दुवै पार्टीलाई हुन सक्छ । 

दुई ध्रुवका पार्टीबीच एकता भयो भने फेरि पनि सत्ता गठबन्धन हुन सक्ने लगभग पक्काजस्तै हुनेछ । तर आपसमा धोका दिइरहने केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एकताको लगन जुराउन चीनलाई सजिलो भने पक्कै छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ