arrow

ग्लोबल आइएमई बैङ्कको मिथिला चित्र अङ्कित क्यालेन्डर सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
global-ime-bank-calender-2079.jpg

काठमाडौँ। ग्लोबल आईएमई बैङ्कले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै विसं २०७९ को क्यालेन्डर सार्वजनिक गरेको छ। बैङ्क सञ्चालक समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सहित बैङ्क सञ्चालक तथा बैङ्क उच्च अधिकारीहरूले आइतबार राजधानीमा आयोजित कार्यक्रममा क्यालेन्डर सार्वजनिक गरे।

ग्लोबल आईएमई बैङ्कले बर्सेनि आफ्नो क्यालेन्डरमा स्थानीय कला, संस्कृतिलाई प्राथमिकता दिँदै आएको छ। चालू वर्ष २०७८ को क्यालेन्डरमा पनि बैङ्कले नेपालमा रहेका विभिन्न जातजातिका गरगहना र पहिरनलाई क्यालेन्डरमा समावेश गरेको थियो। आउँदो नयाँ वर्षका लागि मध्य तराईको मौलिक संस्कृति मिथिला कलालाई समावेश गरिएको हो।

कार्यक्रममा बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ क्यालेन्डरमार्फत मिथिला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्न सक्ने बताए। मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैङ्क स्थापनाकालदेखि नै सक्रिय रहेको उल्लेख गर्नुहुँदै उहाँले आउँदा दिनमा पनि सांस्कृतिक क्षेत्रमा बैङ्कले सहकार्य गर्ने प्रतिबद्धता जनाए।

करिब ३७ वर्षदेखि चित्रकलामा सक्रिय अजितकुमार साह र गीताकुमारी ठाकुरले तयार पारेको मिथिला संस्कृति झल्काउने चित्रकलालाई क्यालेन्डरमा समाविष्ट गरिएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले जानकारी दिए।

नेपालको मौलिक मिथिला कला तराईको घरघरमा संस्कृतिका रूपमा रहे पनि मुलुकभर क्यालेन्डरमार्फत फैलाउने तथा कलाकारको योगदानलाई सम्मान गर्ने आफूहरूको प्रयास रहेको उनको भनाइ छ।

"छरिएर रहेका मिथिला कलाकृतिलाई एकीकृत गर्ने हाम्रो प्रयास हो,"उनले भने, "यसबाट चित्रकला क्षेत्रलाई प्रवर्द्धन हुने र स्थानीय कलाकृति तथा संस्कृति संरक्षण हुने हाम्रो अपेक्षा छ।"

कार्यक्रममा कलाकार साहले भिडियो सन्देशमार्फत मिथिला कलालाई क्यालेन्डरका निमित्त छनोट गरेकोमा बैङ्कलाई धन्यवाद दिएका थिए भने अर्का कलाकार ठाकुरले आफूहरूको सृजना र संस्कृतिलाई मुलुकभर पुर्‍याएकोमा कृतज्ञता व्यक्त गरे। सो अवसरमा बैङ्क अध्यक्ष ढकालबाट कलाकारद्वयलाई सम्मानसमेत गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ