arrow

एमाले र लोसपासँग सहकार्य नगर्ने जसपाको नीति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
upendra-yadav-jasapa.jpg
तस्बिर– फाइल

काठमाडौैं । जनता समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीसँग सहकार्य नगर्ने नीति बनाएको छ । जसपाका कार्यकारिणी समितिका सदस्य तथा केन्द्रिय निर्वाचनपरिचालन समितिका सदस्य मृगेन्द्रसिंह यादवले पार्टीले एमाले र लोसपासँग सहकार्य नगर्ने नीति बनाएको स्पष्ट पारे । 

जसपाको चुनावी रणनीति बनाउन बुधबार निर्वाचन परिचालन समितिको बैठक बोलाएको थियो ।  सो बैठकमा स्थानीय तहको चुनावको लागि रणनीति तयार गर्ने विषयमा छलफल भएको यादवले बताए । अशोक राईको संयोजकत्वमा गठन गरिएको चुनाव परिचालन समितिमा पार्टीका २२ जना नेता सदस्य रहेका छन् ।
  
यादवका अनुसार आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले महानगरपालिका र उपमहानगरपालिकामा सत्तारुढ दलहरूबीच गठबन्धन गर्ने नीति बनाएको छ । 

‘महानगर र उपमहानगर बाहेक अन्य जिल्लामा गठबन्धनको विषयमा भने निर्णय गर्ने अधिकार स्थानीय तहलाई  दिने भएका छौ’ यादवले भने । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरुसँग सहकार्य हुने जसपाका नेताहरूको भनाइ छ । 

त्यसैगरी जसपा कार्यकारिणी समितिका सदस्य मनिष सुमनले पनि स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) र लोसपासँग गठबन्धन नहुने प्रष्ट पारे । साविकको निर्वाचन परिणाम, उम्मेदवारको सक्रियता, विजय हुने सुनिश्चिता लगायतका विषयलाई आधार बनाएर चुनावमा सत्तारुढ दलहरूबीच गठबन्धन गरिने सुमनले स्पष्ट पारे । 

सुमनका अनुसार सबै वडा समितिले उम्मेदवारहरूको टुंगो लगाइ चैत २० गतेसम्म प्रदेश समितिलाई सूची बुझाउन मातहतका समितिलाई निर्देशन दिइएको छ । 

‘वडा समितिले बुझाएको सूचीमा एक जनामात्र उम्मेदवार भए प्रदेश समितिले हस्तक्षेप गर्दैन तर एउटा सिटमा दुई वा दुई भन्दा बढी उम्मेदवारको सूची आएमा प्रदेश समितिले टुंगो लगाउँछ’ सुमनले भने ।
 
सात महिनाअघि जसपा विभाजित भएको छ । स्थानीय तहको निर्वाचनमा विभाजनको असर नदेखिने गरी चुनावी रणनीति बनाउने जसपाका नेताहरूको तयारी छ । 

यता लोसपाका नेताहरूले पनि स्थानीय तहको निर्वाचनमा जसपासँग चुनावी तालमेल हुने सम्भावना निकै कम भएको बताएका छन् । ‘राजनीतिमा असम्भव त छैन । तर स्थानीय तहको निर्वाचनमा जसपासँग चुनावी तालमेल हुने सम्भावना निकै कम छ’ लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले भने । 

तराई मधेस केन्द्रित २ दल जसपा र लोसपा स्थानीय तहको निर्वाचनमा खासगरी मधेस प्रदेशमा आफ्नो पकड कायम राख्न पार्टीको सबै शक्ति प्रयोग गर्ने नीति बनाएका छन् । 

त्यसको लागि दुवै पार्टीले तयारी तीब्र बनाएका छन् ।   


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ