arrow

माओवादीसहित साना वाम कार्यकर्ता भित्र्याउन एमाले सक्रियः विप्लव, वैद्यलाई कार्यकर्ता जोगाउन मुस्किल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १८ शुक्रबार
kp-sharma-oli-speech-123.jpg
तस्बिर–जुम्लाको सिंजा गाउँपालिकाको नराकोटमा बिहीबार आयोजित जनसभामा सम्बोधन गर्दै ओली।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सत्तारुढ गठबन्धनलाई काउण्टर दिन माओवादीसहित साना वामका कार्यकर्तालाई निशानामा राखेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिनहुँ पार्टी प्रवेश गराउँदै देश दौडाहामा रहँदा माओवादीसहित साना वामलाई आफ्ना कार्यकर्ता जोगाउन धौधौ परेको छ । 

एमालेविरुद्ध सत्तारुढ दलको गठबन्धन कायमै रहने अवस्था आए पनि एमालेले देशभर पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिँदा माओवादी र विप्लव सहितका साना वाम दल संकटमा पर्ने अवस्थामा पुगेका छन् । ‘एमालेका नेताहरु दिनहुँ पार्टी प्रवेशको कार्यक्रम लिएर हिँडेका छन्, उनीहरुको टार्गेट माओवादी कार्यकर्तामाथि छ’, माओवादीका एक नेताले भने ।    

एमाले अध्यक्ष ओली दिनहुँ पार्टी प्रवेश गराउन देश दौडाह गरिरहेका छन् । उनले सकेसम्म एकै दिनमा तीन वटा जिल्लाका कार्यक्रम भ्याउने गरेका छन् । बिहीबार मात्रै उनले दैलेख, कालिकोट, जुम्ला जिल्लाका कार्यक्रम भ्याएका थिए । ती कार्यक्रममा ओलीले माओवादी, विप्लव माओवादी, मोहन वैद्य समूहका नेता कार्यकर्तालाई प्रवेश गराएका थिए । 

एमालेले पहिलो प्राथमिकतामा माधव नेपालसँग गएका नेता कार्यकर्ता, माओवादीका कार्यकर्तालाई प्राथमिकतामा राखेको छ । एमाले विभाजन भएपछि त्यसको पूर्ति गर्न माओवादीका कार्यकर्तालाई एमालेमा ल्याउन नेताहरु खटिएका छन् । उनीहरुले कांग्रेसलाई धेरै गाली नगर्ने नीति लिएका छन् । 

कांग्रेसलाई गाली नगरी फकाउने एमालेको नीति छ । ‘एमाले स्थानीय तहमा अन्य दलभन्दा सबैभन्दा ठूलो दल बन्ने गरी अघि बढेको छ तर यसलाई रोक्न गठबन्धन गर्नुपर्ने बाध्यता भयो’, माओवादीका एक नेताले भने ।   

सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचन एमालेका विरुद्ध लाग्ने प्रायः निश्चित भएपछि त्यसलाई ‘काउन्टर’ दिन र पार्टीको शक्ति आर्जन गर्न एमालेले बैशाख ९ गतेसम्म ठूलै संख्यामा पार्टी प्रवेशको कार्यक्रम बनाएको छ । ‘हामीले पार्टी प्रवेशलाई अभियानकै रुपमा सञ्चालन गरेका छौं’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने । बिहीबार पनि पार्टी अध्यक्ष ओली दैलेख, कालिकोट र जुम्ला पुगेका थिए । त्यहाँ पार्टी प्रवेशको कार्यक्रम गरेर काठमाडौ फर्केका छन् । 
एमालेले लगातार पार्टी प्रवेश गराइरहेको छ । सोमबार कपिलबस्तुमा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री बृजेशकुमार गुप्ता, प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका  १ का वडाअध्यक्ष सुदीप पौडेल, ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, १२ का वडा अध्यक्ष ओमप्रकाश पाण्डेय, बुद्धभूमि नगरपालिका ६ का वडा अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका ८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कसौधन, कृष्णनगरका नेता कुनालप्रताप शाहलगायतका थुप्रै नेता–कार्यकर्तालाई अध्यक्ष ओलीले पार्टी प्रवेश गराएका थिए ।


त्यसअघि सोमबार बिहान पनि बालकोटस्थित निवासमा  महोत्तरीका दुई पालिकाका प्रमुख र उपप्रमुखलाई ओलीले पार्टी प्रवेश गराएका थिए । सम्सी गाउँपालिकाका अध्यक्ष शेख फारुख, जलेश्वर नगरपालिकाकी उपप्रमुख मञ्चनुदेवी, सोही नगरपालिकाको ३ नम्बर वडाध्यक्ष जयनारायण मण्डल, ४ का अध्यक्ष करि कमाख्या महत्तो, ८ नम्बरका अध्यक्ष रामबिलास महत्तो, लोहारपट्टी नगरपालिका बाट वडाध्यक्ष रामबाबु यादवलाई ओलीले पार्टी प्रवेश गराएका थिए । 

मंगलबार दोलखामा पनि माओवादीको एउटा ठूलो समूह एमाले प्रवेश गरेको छ । माओवादीका १ नम्बर निर्वाचन क्षेत्रका अध्यक्ष तथा अघिल्लो निर्वाचनमा गौरीशंकर गाउँपालिका अध्यक्षका उम्मेदवार निमा लामा, माओवादी केन्द्र दोलखाका सचिवालय सदस्य शंखङिमा शेर्पा (रकेट), अखिल कान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा वाग्मती प्रदेश उपाध्यक्ष मिङगुर शेर्पा, माओवादी केन्द्र गौरीशंकर गाउँपालिका उपसिचव अशोक तामाङ लगायत तीन दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । 

अघिल्लो हप्ता ओलीले मंगलबार जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंह, कलाकार करिश्मा मानन्धर लगायतलाई पार्टी प्रवेश गराएका थिए । सिंह नेतृत्वको पार्टी नै एमालेमा विलय भएको छ । मंगलबारै ओखलढुंगामा माओवादीको युवा संगठन वाईसीएलका जिल्ला अध्यक्ष सुभाष खड्का एमाले प्रवेश गरेका थिए । 

 



नयाँ