arrow

३० किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०७८ चैत २० आइतबार
humalas-chakhel.PNG

मुगु । बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको यहाँको एक सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । ग्रामीण पहुँच कार्यक्रम (र्‍याप-थ्री) ले बेलायत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा मुगु जिल्लाको चंखेली देखि हुम्ला जिल्लाको देउली सम्म निर्माण सम्पन्न गरेको सडक खण्ड शनिवार एक कार्यक्रमका वीच कणाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।

हुम्ला जिल्लाको चंखेली गाउँपालिका वडा नं १ बोहोरा गाउँमा रहेको चंखेली आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा ग्रामीण पहुँच कार्यक्रम मुगु हुम्ला लिङ्क रोडका टिम लिडर विष्णुराम विष्टले कणाली प्रदेश सरकार अन्तरगत भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय,पूर्वाधार विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख देवी ऐडीलाई निर्माण सम्पन्न भएको ३० किलोमिटर उक्त सडक हस्तान्तरण गरेका थिए ।

ग्रामीण पहुँच कार्यक्रमले मुगु जिल्ला सदरमुकाम गमगढी देखि हुम्ला जिल्लाको देउलीसम्म कुल ६७ किलोमिटर सडक निर्माण सम्पन्न गरे पनि मुगु खण्डको ३७ किलो मिटर सडक मध्य गमगढी-दर्खे २६ किलोमिटर र दर्खे-चंखेली ११ किलोमिटर सडक कणाली प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको थियो । 

गमगढी देखि देउलीसम्म सडक निर्माण सम्पन्न हुँदासम्म १ अर्ब ५७ करोड ८८ लाख ४६ हजार ८३३ लागत लागेको,यो लागतलाई प्रति किलोमिटरमा हेर्दा प्रतिकिलोमिटर २ करोड ३५ लाख ६४ हजार ८७८ लागत खर्च भएको बताइएको छ ।

जिल्लागत खर्च हेर्दा मुगु खण्डको ३७ किलोमिटर सडकमा ८७ करोड १९ लाख ५१८ रुपैयाँ र हुम्ला तर्फको ३० किलोमिटरमा ७० करोड ६९ लाख ४६ हजार ३६६ रुपैयाँ खर्च भएको छ ।

अर्ध मेसिनरी र पूर्ण जनताको सहभागितामा निर्माण भएको यो सडक निर्माण गर्दा ४,८२,२५३ पुरुष र ३,२३,३२७ जना महिला गरि कुल ८०५५८० जना जनशक्ति खटिएको थियो ।

सडकको मापदण्ड पूर्ण रूपमा पालना गरेर निर्माण सम्पन्न गरेको यो सडक हस्तान्तरण पछि सरकारको व्यवास्ताका कारण मर्मत सम्भार नभएर जीर्ण हुँदै जाने हो कि भनेर आफूहरू चिन्तित भएको र अव कणाली प्रदेश सरकारले सडक नियमित सुचारु गर्न मर्मत सम्भारमा बजेर र जनशक्तिको नियमित व्यवस्था गर्नु पर्ने चंखेली गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि धनलाल चौलागाईले बताए ।

ग्रामीण पहुँच कार्यक्रमले बनाएको मुगु-हुम्ला लिङ्क सडकको गुणस्तर देख्दा आफूमा खुशीको सीमा नै नरहेको र यो सडकको गुणस्तर कायम राखी राख्न प्रदेश सरकारले आवश्यक काम गर्ने र त्यसको लागी आफ्नो मन्त्रालयले कणाली प्रदेश सरकारलाई आवश्यक योजना पेश गर्ने कणाली प्रदेश सरकारका तर्फबाट भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रतिनिधि तथा विशेष अतिथि विशेष शर्माले प्रतिबद्धता गरे ।

सडक बनेर गाडी चल्न सुचारु भएकोले आफूहरू खुशीले गद गद भएको र अब औषधी उपचार गर्न,गाउँघरमा उत्पादित फलफूल,अन्न,जडीबुटी विक्री गर्न मुगु सदरमुकाम गमगढी,हुम्ला सिमिकोट लगायत देशका विभिन्न शहरमा जान सहज भएको चंखेली गाउँपालिका वडा नं १ रिमीका स्थानीय भियाल्ली ऐडीले भने सडक बनाउँदा गाउँका मान्छेले राम्रो कमाई गरेका थियौ, भारत कोही जानु परेको थिएन । 

अर्की स्थानीय काली ऐडीले ग्रामीण पहुँच कार्यक्रमले बराबर ज्याला दिएको बताउँदै गाउँमा केही विकासका कार्यक्रम भए महिला,बालबालिका,युवा र जेष्ठनागरिक गरि कामको ज्यालामा मतभेद गर्ने गरेका थिए तर यो सडक बनाउँदा कामको आधारमा ज्याला दियो हामीले पुरुष भन्दा राम्रो कमाएको सुनाइन् ।

सडक निर्माण सम्पन्न भई कणाली प्रदेश सरकारलाई हस्तान्तरण भए पनि मुगु-हुम्ला सडकमा पर्ने लुम खोला,दर्खे खोला,लेवा्र खोला र मेल्छाम खोलामा साना पुल बनाउने कार्य सम्पन्न नभएकाले यी पुल निर्माण भने ग्रामीण पहुँच कार्यक्रमले गनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ