arrow

भारत बाहेक विनोद चौधरी दक्षिण एसियाका एक्ला अर्बपति

चौधरी फोर्ब्सको सूचीमा १९२९ नम्बरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
binod-chaudhary-chairman-group.jpg

काठमाडौं । विश्वभरिका धनीहरुको बारेमा सुची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष पनि विश्वभरिका डलर अर्बपतिहरुको सुची सार्वजनिक गरेको छ । गए राती सार्वजनिक सुची अनुसार दक्षिण एसियामा भारतमा बाहेकका अर्बपति नेपालका विनोद चौधरी मात्र रहेका छन् ।

दक्षिण एसियाका देशहरूमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपाल मात्र परेका हुन् । दक्षिण एसियाका अन्य मुलुकहरू श्रीलङ्का, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिपस र अफगानिस्तानका कुनै पनि व्यवसायी अर्बपतिको सुचीमा परेका छैनन् । 

नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्तिमा पनि वृद्धि भएको छ । फोर्ब्सका अनुसार उनको सम्पत्ती गत वर्ष १.४ अर्ब डलर रहेकोमा यो वर्ष दश करोड डलरले वृद्धि भई १.५ अर्ब डलर पुगेको छ । व्यवसायी चौधरी फोर्ब्सको सूचीमा १९२९ नम्बरमा छन् । चौधरी २०१३ देखि अर्बपतिहरुको सुचीमा निरन्तर रहदै आएका छन् । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य समेत रहेका व्यवसायी चौधरी पछिल्लो समय राजनीतिमा सक्रिय छन् । एउटा व्यक्ति मात्र धनी हुँदैमा आफूलाई सन्तुष्टि नमिल्ने बताउँदै चौधरीले देशलाई आर्थिक रूपले समृद्ध बनाउन सक्दाको दिनमा मात्र वास्तविक आत्मसन्तुष्टि मिल्ने बताए । 

‘मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो’, चौधरीले भने,‘आफूसँग भएको ज्ञान र सिकेको सिप सबै नेपालीले देखेको देशको आर्थिक समृद्धिको सपना साकार पार्न प्रयोग गर्न सकौँ भनेर नै म राजनीतिमा आएको हु ।’

यस्तै उक्त सुचिका अनुसार दक्षिण एसियाको अर्को मुलुक छिमेकी भारत विश्वका धेरै अर्बपति रहेको मुलुकहरूमध्ये तेस्रो भएको छ । भारतमा १ सय ६६ अर्बपति रहेका छन् भने अर्को छिमेकी चीनमा  ५ सय ३९अर्बपति रहेका छन् । सूचिको सबैभन्दा माथि रहेको अमेरिकामा अर्वपतिहरुको सङ्ख्या ७ सय ३५ रहेको छ ।

२९०.३ अर्ब डलर सम्पत्ती रहेका एलन मस्क यस वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्ती भएका छन् । यस्तै दोस्रो धनी जेफ बेसोजको सम्पत्ती १८९.८ रहेको छ भने बर्नाड र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी रहेका छन् । भारतका गौतम अदानी र मुकेश अम्बानी पहिलो दशको सूचीमा रहेका छन् । अदानी नवौँ र अम्बानी दसौँ नम्बरमा छन् । 



नयाँ