arrow

तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन शुरु, ग्रामीण विकासको मुख्य आधार लघुवित्त : कामु गभर्नर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २८ सोमबार
nrb-governer-nilam.jpg

काठमाडौँ। तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौँमा शुरु भएको छ। सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैङ्क कायममुकायम गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनाले लघुवित्त ग्रामीण विकासको मुख्य आधार भएको बताइन् ।

लघुवित्तले गरिब र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न, लैङ्गिक असमानतालाई न्यून गर्न, महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक असमानतालाई कम गर्न मद्दत गरेको उनले बताइन् ।

“लघुवित्तले वित्तीय सेवाबाट वञ्चित रहेका समूहलाई प्रदान गर्ने वित्तीय सेवाहरूलाई जनाउँछ, जसले उनीहरूलाई स्वरोजगारका अवसरहरू विकास गर्न र विभिन्न आय आर्जन गर्ने गतिविधिहरू विस्तार गर्न मद्दत पुर्या‍उँछ” उनले भनिन्।

लघुवित्तले महिलाहरूको आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका खेलेको उनले बताइन। “पुरुषहरूको अनुपातमा महिलाहरूको रोजगारीलगायत आयआर्जन हुने क्षेत्रमा सहभागिता कम रहेता पनि लघुवित्त वित्तीय संस्थाहरूले ग्रामीण विपन्न वर्गका महिलाहरूलाई उत्पादनशील क्रियाकलापमा संलग्न गराई रोजगारी सिर्जनालगायत ग्रामीण महिलाको उत्थानमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्” उनले भनिन्, “औपचारिक रोजगारी वा जीविकोपार्जनका वैकल्पिक अवसरहरूको अभावले मुलुकको आर्थिक विकासमा महिलाहरूको सहभागितालाई सीमित बनाएको सन्दर्भमा लघुवित्त वित्तीय संस्थाहरूले महिलाहरूलाई आर्थिक गतिविधिमा सहभागी गराउन अभिप्रेरित गर्दै आएका छन्।”

समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासको बाबजुद मुलुकको कुल जनसङ्ख्याको करिब १८ प्रतिशत हिस्सा अझै पनि गरिबीको रेखामुनि रहेको उनले बताइन् ।

अझै पनि २० प्रतिशत जनसङ्ख्याको हिस्सा औपचारिक वित्तीय पहुँचभन्दा बाहिर रहेको स्थितिमा लघुवित्त वित्तीय संस्थाहरूलाई गरिबी निवारण, आर्थिक समावेशीकरण र समग्र आर्थिक विकासका लागि प्रभावकारी साधन मानिएको उनको भनाई छ ।

“नेपालमा लघुवित्तको अभ्यास सुरु भएको साढे चार दशकभन्दा पनि बढी भइसकेको छ । यसबीच गरिबी निवारणका धेरै पहल सुरु गरिए तापनि लघुवित्त कार्यक्रम मात्र गरिबी निवारण र ग्रामीण विकासको मुख्य आधार भएको छ ।”

कायममुकाय गभर्नर तिम्सिनाले लघुवित्त वित्तीय संस्थाहरूको सेवा देशका ७७ वटै जिल्लामा पुगेको र सञ्चालनमा आएका शाखाको सङ्ख्या ४९८५ रहेको जानकारी गराइन् ।

२०७८ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरूको कुल सदस्य सङ्ख्या ५६ लाख २२ हजार रहेको र त्यसमध्ये पुरुषको सङ्ख्या १ लाख ५१ हजार मात्र रहेको उनले जानकारी गराइन । महिलाको सङ्ख्या भने ५४ लाख ७१ हजार रहेको छ ।

लघुवित्त वित्तीय संस्थाहरूबाट ऋण लिने सदस्यको सङ्ख्या ३१ लाख ७१ हजार रहेको छ, जसअन्तर्गत पुरुषको सङ्ख्या ८३ हजार छ भने महिलाको सङ्ख्या ३० लाख ८८ हजार रहेको छ ।

यद्यपि महिलाहरूसँग सम्पत्तिको स्वामित्वको कमी भएकाले महिलाद्वारा विभिन्न व्यवसाय थालनी गर्दा आवश्यक हुने कर्जाको धितो समेतको अभाव भएको देखिएको उनले बताइन् । “कुल पुरुषको जनसङ्ख्या मध्ये ५६ प्रतिशत पुरुषहरूको वित्तमा पहुँच रहेको छ भने महिलाहरूको कुल जनसङ्ख्या मध्ये मात्र ३६ प्रतिशत पहुँच रहेको छ । आर्थिक स्रोतमाथि महिलाको पहुँच र नियन्त्रण पनि निकै कम भएको अवस्था छ” उनले भनिन् ।

उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै सम्मेलन आयोजक समितिका अध्यक्ष शङ्कर मान श्रेष्ठले देशमा अझै १८ प्रतिशत जनसङ्ख्या गरिबीको रेखा मुनी रहेकाले लघुवित्तले गरिबीलाई शून्यमा झार्न सक्नुपर्नेमा जोड दिए ।

उनले एकै व्यक्तिले धेरै लघुवित्त संस्थाबाट कर्जा लिएको भन्दै त्यसमा कढाई गर्नुपर्ने बताए । “नाफा कमाउने होडमा लघुवित्त संस्थाहरू लागेको देखिन्छ । यति नाफा कमाए, उति नाफा कमाए भनिएको छ । तर, त्यो लघुवित्तको सार्थकता होइन ।

लघुवित्त कमाऊ धन्दामा फस्नु भएन । लघुवित्तले गरिबीलाई शून्यमा झार्न सक्नुपर्छ । २२÷२४ वटा संस्थाबाट समेत कर्जा लिएको पाएको छु । त्यसैले सङ्ख्यात्मक वृद्धि गर्न सदस्य खोसाखोस नगरौँ” उनले भने । बहु कर्जाले लघुवित्तलाई अलमल्याएको उनको भनाई छ ।

लघुवित्त सेवाको संस्कार गिर्दो अवस्थामा रहेको भन्दै उनले समयमै सच्चिन आग्रह गरे । ‘सक्षम’ नामक विदेशी परियोजनाले जथाभाबी लघुवित्तको शाखा बढाउन लगाएको समेत उनले बताए । उनले अरूको भड्काउन नलाग्न आग्रह गरे । “अरूको खुट्टामा उभिने होइन । हामी आफ्नै खुट्टामा उभिन सक्नुपर्छ । आत्ममूल्यांकन गरौँ, हामी सक्षम छौँ, गन्तव्यमा पुग्छौंं” उनले भने ।  

उनले लघुवित्तहरू स्वनियमनमा बस्नुपर्ने आवश्यकता औँल्याए । “पुरानो ढर्राबाट अब चल्न हुँदैन । अहिले नै सचेत बन्नुपर्छ । ढिला गर्न हुँदैन । स्वः नियममा बस्न अरूले निर्देशन दिन पर्दैन । राम्रो कामका लागि नेपाल राष्ट्र बैङ्कको निर्देशन कुर्नु पर्दैन” उनले भने ।

सम्मेलन उद्घाटनमा आउने कार्यक्रम भए पनि निर्वाचन आचारसंहिताका कारण आउन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलन सफलताको शुभकामना पठाएका थिए ।

शुभकामना दिँदै उनले देशका विभिन्न क्षेत्रमा रहेका लघुवित्तहरूले स्थानीय उत्पादनमा वृद्धि गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गरेको बताए ।

उनले स्थानीय तहका नागरिकहरूलाई बचत र लगानीमा प्रोत्साहन गर्दै आयआर्जनमा वृद्धि गरेर समग्रमा मुलुकको आर्थिक अवस्थालाई चलायमान गराउन लघुवित्तहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

देशभर रहेका लघुवित्तहरूले स्थानीय उत्पादनलाई आधुनिकीकरण र बजारीकरण गर्नमा समेत लघुवित्तहरूको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए ।

सम्मेलन उद्घाटन सत्रमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम उपसमिति संयोजक ज्योतिचन्द्र ओझाले लघुवित्तहरूको मुख्य लक्ष्य गरिबी निवारण भएको बताए ।

उनले सम्मेलनको प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिसहित सम्मेलनमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ