कुल विदेशी विनिमय सञ्चित १६.३ प्रतिशतले घट्यो : राष्ट्र बैङ्क
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
704
Shares
फाइल तस्बिर
काठमाडौँ। नेपालको कुल विदेशी विनिमय सञ्चित १६.३ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चित फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब रुपैयाँ कायम भएको छ।
अमेरिकी डलरमा यस्तो सञ्चित २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेको थियो। २०७८ फागुन मसान्तमा आइपुग्दा १८.५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड डलर कायम भएको राष्ट्र बैङ्कले जनाएको छ।
कुल विदेशी विनिमय सञ्चितमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चित २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा फागुन मसान्तमा १८.२ प्रतिशतले कमी आई १० खर्ब १८ अर्ब ५ करोड रुपैयाँ कायम भएको छ।
बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्कबाहेक) सँग विदेशी विनिमय सञ्चित २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो। २०७८ फागुन मसान्तसम्म आइपुग्दा ०.९ प्रतिशतले कमी आई १ खर्ब ५२ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ।
२०७८ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ।