- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपाली काँग्रेसले तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पालामा विवादमा परेका विषयलाई भ्रष्टाचार भएको भन्दै पुस्तिका नै प्रकाशन गरेर गाउँ गाउँमा पुर्याएको छ। ‘घर-घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान अन्तर्गत धेरै जसो जिल्लामा पुस्तिका नै बनाएर एमाले सरकारको पालामा भ्रष्टाचार भएको भन्दै पुस्तिका बनाएर गाउँ पुर्याएको हो।
‘विपक्षी दलहरूले केन्द्रदेखि स्थानीय सरकार सञ्चालन गर्दा भएका आर्थिक एवम् प्रशासनिक अनियमितताका विषय र खास गरी एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले सरकार सञ्चालन गर्दा भएका सेक्युरिटी प्रेस काण्ड, यती काण्ड, ओम्नी काण्ड, कोरोनाको खोप खरिदमा कमिसनका खोप आउन नसकेको कुरा, कोरोनाकलामा विदेशबाट अलपत्र श्रमिक उद्धारको चार्टर उडानमा गरिएको भ्रष्टाचारजस्ता अनियमितता जनताबिचमा उजागर भएका छन्,’ सो अभियानका बारेमा काँग्रेसले भनेको छ, ‘कतिपय जिल्लामा नेपाली काँग्रेसका सरकारले गरेका काम र विपक्षीले गरेका भ्रष्टाचारको बारेमा पुस्तिका नै बनाएर वितरण भएको छ।’
सो अभियान अन्तर्गत तत्कालीन प्रधानमन्त्री ओलीले संविधानले नदिएको अधिकार प्रयोग गरी दुई–दुई पटक गरेको प्रतिनिधिसभा विघटनको सिफारिस अदालतले बदर गरेपछि संविधान बचाउन काँग्रेसले अन्य दलको अनुरोधमा सरकारको नेतृत्व सम्हाल्ने अवस्था आएको कुरा जनतालाई बुझाउन यो अभियान सफल भएको काँग्रेसको निष्कर्ष छ।
एमसीसीका सन्दर्भमा फैलाइएका भ्रम र अफवाहलाई चिर्न सो अभियान सफल भएको पनि काँग्रेसको दाबी छ। ‘हाम्रो आफ्नो माग अनुरूप अमेरिकाले ५०० मिलियन डलर (६० अर्ब रुपैयाँ भन्दा बढी)को उदार आर्थिक अनुदानलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण नेतृत्वमा सांसदबाट पारित गरिएकोले नेपालको अन्तर्राष्ट्रिय साख पनि अभिवृद्धि गरेको छ’ काँग्रेसको निष्कर्ष छ, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले हालै गर्नुभएको मित्रराष्ट्र भारतको भ्रमण र मित्र राष्ट्र चीनका विदेश मन्त्री याङ् यीको हालै सम्पन्न नेपाल भ्रमणले नेपालको परराष्ट्र सम्बन्धलाई थप उचाइ दिएका छन्, नेपालको अन्तर्राष्ट्रिय साख अभिवृद्धि भएको छ।’
काँग्रेसको सो अभियानका गत २९ फागुनबाट सुरु गरेर चैत २९ गते समापन भएको थियो। काँग्रेस प्रवक्ता प्रकाश शरण महतका अनुसार ६ हजार ७ सय ४३ वटा वडामा नै काँग्रेसका नेताहरू पुगेर पार्टीको पक्षमा माहौल सिर्जना गराउन सफल भएका छन्।