- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले अपांगता तथा द्वन्द्व पीडित पत्रकारका मुद्धा सुल्झाउन आफू लागिपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ अपाङ्गता तथा द्वन्द्वपीडित समितिको संयुक्त आयोजनामा बुधबार नेपाल पत्रकार महासंघको भवनमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले आफू अध्यक्षका नाताले यी विषयमा साक्षर हुने अवसर पाएको बताउँदै अपांगता तथा द्वन्द्व पीडितका समस्या माधानमा लाग्ने प्रतिवद्धता जनाएका हुन् ।
‘मिडियामा अपाङ्गता तथा द्वन्द्व पीडित पत्रकारहरुका समस्या र महासंघको भूमिका’ विषयक कार्यक्रममा पोखरेलले अपाङ्गता तथा द्वन्द्व पीडित पत्रकारहरुले पत्रकारिता गर्ने क्रममा भोग्न परेका समस्या तथा चुनौतीहरुको विषयमा महासंघमा आवाज उठाउनु पर्ने र समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्न लागि पर्ने बताए ।
नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदिशप्रसाद अधिकारीले अपाङ्गता भएका पत्रकारहरुलाई सदस्यता उपलब्ध गराउनुका साथै अपाङ्गता मैत्री सञ्चारसेवा निर्देशिका कार्यान्वयन गर्न पत्रकार महासंघले पहल गर्नुपर्ने बताए ।
त्यसैगरी पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य माधवप्रसाद चम्लागाईले अपाङ्गता भएका पत्रकारहरुको रोजगारीका लागि महासंघले पहल गर्नुपर्ने, पत्रकारिता तालिम प्रदान गर्नुका साथै सञ्चार सम्बन्धी उपकरण खरिद गर्दा सहुलियतको व्यवस्था गर्नु पर्नेमा जोड दिए ।
संवाद डबलीका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ ललितपुरका सदस्य दिपेन्द्र रावलले अपाङ्गता तथा द्वन्द्वपीडित पत्रकारहरुले पत्रकारिता गर्ने क्रममा आफूले भोग्न परेका समस्याहरुका विषयमा आवाज उठाउनु पर्ने बताउँदै आवश्यक सहयोग र तालिम प्रदान गर्ने बताए ।
त्यसैगरी राष्ट्रिय अपाङ्ग पत्रकार संघका अध्यक्ष रविन थपलियाले अपाङ्गता भएका सञ्चारकर्मीहरुको रोजगारीको लागि राज्यले विभिन्न कार्यक्रमहरु ल्याउनु पर्ने भन्दै नेपाल पत्रकार महासंघबाट पहल गर्नु पर्ने कुरामा जोड दिए ।
नेपाल पत्रकार महासंघ लेखा समितिका संयोजक लेखनाथ न्यौपानेले सरकारी सञ्चार माध्यमहरुमा अपाङ्गता भएका पत्रकारहरुलाई रोजगारीको अवसर प्रदान गरिनु पर्ने र अपाङ्गता भएका पत्रकारहरुले काम गर्ने क्रममा भोग्न परेका समस्याहरुको समाधानका लागि निरन्तर रुपमा छलफल गरिनु पर्ने बताए ।
सो छलफलमा पत्रकार जन्मदेव जैशीले अपाङ्गता तथा द्वन्द्वपीडित पत्रकारहरुका सवालहरुलाई राज्यले संवोधन गर्नुपर्ने भन्दै पत्रकारिताका सवालमा बनेका ऐन कानूनहरु कार्यान्वयन गर्नु पर्ने बताए ।
कार्यक्रम नवीन रिजालको संयोजकतत्वमा सम्पन्न भएको थियो ।