arrow

एमालेले उम्मेदवार छनोट गर्दा विवेक नपुर्‍याएको भन्दै चर्को असन्तुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
CPN-UML-Flag.jpeg

काठमाडौं । नेकपा एमालेले उम्मेदवार छनोट गर्दा विवेक नपुर्याएको भन्दै नेता कार्यकर्तामा असन्तुष्टि देखिएको छ । प्रदेश १ को सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको उम्मेदवार छनोटको विषयलाई लिएर निवर्तमान उपमेयर कल्पना राई लगायतका नेताहरुले पार्टी छाड्ने घोषणा गरेका छन् । 

त्यहाँ नेपाली कांग्रेसबाट भर्खरै पार्टी प्रवेश गरेका काजी शेर्पालाई मेयरको उम्मेदवार बनाएपछि असन्तुष्टि देखिएको हो । विवादास्पद छविका काजी शेर्पालाई मेयरमा टिकट दिइएपछि राईले एमाले परित्यागको घोषणा गरेकी हुन् । 

साथै उनका श्रीमान वीर उदास श्रेष्ठ र भतिज योगेन्द्र श्रेष्ठले पनि पार्टी छाडेको घोषणा गरेका छन् । राईले मेयरमा दावी गर्दै आएकी थिइन् । त्यहाँ मिङमार शेर्पा लगायतका धेरै नेताहरुले असन्तुष्टि जनाएका छन् । 

त्यसैगरी ईलाममा नेकपा एमालेका नगर अध्यक्षसहित पूरै कमिटीले सामूहिक राजीनामा दिएको  छ । नरेन्द्रनाथ भट्टराईलाई सिफारिस गरिएको भन्दै एमालेका नगर कमिटी अध्यक्ष तिलक ठकुरीसहित २२ जनाले सामूहिक राजीनामा दिएका हुन् । 

नगरपालिकाको मेयरमा एमाले नेता नरेन्द्रनाथ भट्टराईको नाम टुंगिएको सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कार्यकर्ता असन्तुष्ट भएका छन् । असन्तुष्ट पार्टीका युवा कार्यकर्ताले पार्टी कार्यालय तालाबन्दी गरेका हुन् । 

एमाले ईलामको कार्यालयमा नगर कमिटीले तालाबन्दीसमेत गरेको छ । एमालेबाट ईलाममा नगरपालिकाको नगर प्रमुखमा भट्टराईसहित धिरेन चेम्जोङ,कुष्ण श्रेष्ठ सिफारिस भएका थिए ।

नेकपा एमालेकी केन्द्रीय सदस्य एवं पोखरा महानगरपलिकाको उपमेयर पदकी उम्मेदवार मञ्जुदेवी गुरुङले आफ्नो उम्मेदवारी अस्वीकार गरेकी छिन् । पार्टीले आफूलाई उपमेयर पदको उम्मेद्वार बनाएकोमा उनले आश्चर्य प्रकट गरेकी छिन् । 

आफूले मेयर र उपमेयर कुनै पनि पदमा दाबी नगरेको र आफूसँग कुनै पनि सल्लाह नगरिकन नेताहरुले के कारण यस्तो निर्णय गरेको हो भन्दै असन्तुष्टि जनाएकी छिन् । उनी एमाले केन्द्रीय सदस्य हुन् । 

मेयरका उम्मेदवार दीपक पौडेल भने प्रदेश कमिटी सदस्य हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी रहेकी गुरुङले उम्मेदवारी छनोट प्रकृयालाई अस्वीकार गरेकी छिन् । 

‘मैले मागेको भए पो चित्त बुझाउनु हुन्थ्यो  तर, मैले न मेयरमा आकांक्षा राखेको छु न उपमेयरमा आकांक्षा राखेको छु । मलाई सोध्दै नसोधी र जानकारी नै नदिई किन मेरो नाम उपमेयरका लागि निर्णय गरियो नेताहरुले अहिलेसम्म मलाई केही बताउनुभएको छैन । म उहाँहरुलाई सोध्दैछु,’ उनले भनिन् । 

यसअघि दोलखाको भिमेश्वर नगरपालिकाको विषयलाई लिएर त्यहाँ नेताहरुले असन्तुष्टि जनाएका थिए । राजेन्द्र मानन्धर लगायतका नेताहरुले प्रदेश कमिटीमा उजुरी गरेका थिए । 

वीरगञ्जको मेयरमा विजय सरावागीलाई उम्मेदवार बनाएपछि त्यहाँ स्थानीय एमाले कार्यकर्ताहरु रुष्ट भएका छन् । यद्यपि त्यहाँबाट उनको मात्रै नाम सिफारिस भएको थियो । 

काठमाडौं महानगरपालिकामा ईन्दिरा पन्तले पनि असन्तुष्टि व्यक्ति  गरेकी छिन् । उनी मेयरको दावेदार थिइन् । काठमाडौंमा केशव स्थापितलाई उम्मेदवार बनाइएको छ भने उपमेयरमा मिस नेवा सुनिता डंगोललाई उम्मेदवार बनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ