arrow

कांग्रेस गुल्मीका सभापतिले रेसुङ्गा प्रमुखमा गराए मनोनयन दर्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
khildhoj-gulmi.PNG

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसले उम्मेदवारहरूको मनोनयन दर्ता गराएको छ । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि निकै उत्साहजनक उपस्थितिमा कांग्रेसले आफ्ना उम्मेदवारहरूको मनोनयन दर्ता गराएको हो । 

कांग्रेसबाट नगरपालिका प्रमुखमा कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीको मनोनयन दर्ता भएको छ । तल्लो तहका जनताको प्रत्यक्ष जीविकोपार्जनसँग जोडिएर काम गर्ने नेता खिलध्वज पन्थीको मनोनयन दर्ताले कांग्रेस मात्र नभई सिङ्गो नगरपालिकावासीमा खुसीयाली छाएको छ । 

नगरप्रमुखमा आफ्नो मनोनयन दर्ता भएपछि कांग्रेस नेता पन्थीले आम विपन्न गरिब तथा तल्लो तहका नागरिकको जीवनमा खास परिवर्तन आउने गरेर काम गर्ने बताए । मनोनयन दर्ता पछि पत्रकारहरूसँग कुरा गर्दै नगरपालिका प्रमुखका उम्मेदवार कांग्रेस नेता पन्थीले आफू पनि तल्लो तहबाट राजनीतिक जीवनमा सक्रिय भएकोले आफ्नो पहिलो प्राथमिकता गरिबीमा हुने बताए । उनले नगरपालिकामा आफू र आफ्नो समूह अत्यधिक मतले विजयी हुने पनि दाबी गरे ।

उमेरले ४६ वर्षीय पन्थी केही समय अघि सकिएको नेपाली कांग्रेस गुल्मीको ८ औँ जिल्ला अधिवेशनबाट अत्यधिक बहुमतका साथ सभापतिमा निर्वाचित भएका थिए । विकास प्रेमी नेताका रूपमा परिचित पन्थीले प्रत्यक्ष जनताको जनजीविकासँग जोडिएर काम गर्ने भएकोले पनि आफू मेयरमा बहुमतका साथ विजयी हुने दाबी गरेका हुन् । 

कांग्रेसबाट नगरपालिकाको उपप्रमुखमा कांग्रेस नेतृ अमुतादेवी कुँवरको मनोनयन दर्ता भएको छ । त्यस्तै नेपाली कांग्रेसबाट नगरपालिकाका १४ वटै वडामा वडाध्यक्ष सहितको उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । रेसुङ्गा नगरपालिका वडा नम्बर १ बाट रामप्रसाद पन्थी, वडा नम्बर २ बाट हिरा बहादुर थापा, वडा नम्बर ३ बाट बाबुराम खत्री, वडा नम्बर ४ बाट लिलाधर आचार्य, वडा नम्बर ५ बाट दुर्गाप्रसाद खनाल, वडा नम्बर ६ बाट केशव मरासिनी, वडा नम्बर ७ बाट रामप्रसाद पन्थी (राम्जी), वडा नम्बर ८ बाट प्रकाश भलामी, वडा नम्बर ९ बाट कृष्णप्रसाद पाण्डे, वडा नम्बर १० बाट रामबहादुर बस्नेत, वडा नम्बर ११ बाट गुणाखर पाण्डे, वडा नम्बर १२ बाट चेहरसिङ टण्डन क्षेत्री, वडा नम्बर १३ बाट हुम बहादुर बस्नेत र वडा नम्बर १४ बाट धनबहादुर पुनले मनोनयन दर्ता गराएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ