arrow

किर्ते कागज खडा गरेर एमालेका कार्यकर्तालाई बजेट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
Isma_Gaunpalika.png

गुल्मी । गुल्मीमा किर्ते कागज खडा गरेर लक्षित कार्यक्रमको नाममा कार्यकर्तालाई बजेट बाँडफाँड गरिएको छ । जिल्लाको इस्मा गाउँपालिकामा गत फागुन २२ गते किर्ते कागज खडा गरेर बजेट बाँडफाँड गरिएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीको अध्यक्षतामा विभिन्न लक्षित समूह तोकेर बजेटसमेत उल्लेख गरिएको छ । गाउँपालिकाका प्रशासन शाखाका एक कर्मचारीका अनुसार फागुन २२ गते प्रमुख प्रशासकीय अधिकृत नवराज सुवेदी कार्यालयमा हाजिर छन् । 

तर उक्त दिन प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी नदिइकनै गाउँपालिकाका कर्मचारी नारायण महतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेर हस्ताक्षर गराइएको छ । प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हुँदाहुँदै पनि निमित्त तोकेर गरिनु आफैंमा गैरकानूनी काम हो । 

उक्त दिन गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टलाई प्रमुख अतिथि बनाइ आर्थिक प्रशासन शाखाका लेखा अधिकृत अशोककुमार खड्का र प्रशासन शाखाका कर्मचारी हिमाल घर्ती समेतको उपस्थितिमा बजेट बाँडफाँडको निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । 

अन्य २८ जना स्थानीयको उपस्थिति देखाइएको उक्त निर्णयमा ४४ जना उपभोक्ता समितिमा राखिएको छ । आर्थिक वर्ष २०७८–०७९ को लक्षित कार्यक्रम भनेर ५ वटा समूह बनाएर बजेट तोकिएको छ ।

उक्त निर्णयअनुसार युवा लक्षित कार्यक्रमको लागि ९ लाख रुपैयाँ बजेट तोकिएको छ । दोर्णबहादुर बोहराको अध्यक्षतासहित ११ जनाको समूह बनाइएको छ । बोहरा गंगरे लिफ्टिङ्ग खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत हुन् । 

खास गरेर एक भन्दा बढी उपभोक्ता समितिको अध्यक्षमा बस्न पाइँदैन । त्यस्तै दलित लक्षित कार्यक्रमको लागि ४ लाख रुपैयाँ बजेट तोकिएको छ । बिष्णु सुनारको अध्यक्षतासहित समूहमा ९ जना रहेका छन् । 

साथै महिला लक्षित कार्यक्रमका लागि नेत्रकुमारी थापाको अध्यक्षतासहित ७ जनाको समूह छ । जसमा बजेट तोकिएको छैन ।

समूहकी कोषाध्यक्ष कालिका खत्री उजुङ्ग सिंदुखा कालिका मन्दिर उपभोक्ता समितिकी अध्यक्ष पनि हुन् । बजेट उल्लेख नगर्नुले पनि गाउँपालिकाले मनपरी गरेको बुझिन्छ ।

गाउँपालिकाले जनजाति लक्षित कार्यक्रमका लागि ४ लाख रुपैयाँ तोकेको छ । प्रेमबहादुर कुमालको अध्यक्षतासहित समूहमा ९ जना रहेका छन् । कुमाल कंरको टार बाटो उपभोक्ता समितिका अध्यक्ष पनि हुन् । 

त्यस्तै गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि भनेर ५ लाख रुपैयाँ बजेट तोकेको छ । खिमराज पराजुलीको अध्यक्षतामा ९ जनाको समूह बनेको छ । 

प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर भएकै दिन निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेर बजेट बाँडफाँड गरिनुले किर्ते कागज खडा गरेको स्पष्ट छ । महिला लक्षित कार्यक्रममा बजेट उल्लेख नगर्नुले गाउँपालिकाले मनपरी रुपमा बजेट बाँडेको पनि स्पष्ट हुन्छ । 

अन्य उपभोक्ता समितिमा रहेको नेकपा एमालेका कार्यकर्तालाई निश्चित रुपमा तोकेर बजेट बाँडफाँड गर्नु निर्वाचनको लागि बजेट बाँडेको सोझै बझिन्छ । त्यसैमाथि गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टको प्रमुख आतिथ्तामा गरिएको निर्णयमा बजेट कुन कुन शीर्षकमा खर्च गर्ने भन्नेसमेत उल्लेख छैन । हतारहतारमा बसेर आफ्ना कार्यकर्तालाई बजेट बाँडफाँड भएको छ । 

यस्तो छ गाउँपालिकाले फागुन २२ मा तयार पारेको किर्ते कागजपत्र: 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ