arrow

सरकार चुनावको पक्षमा नरहेको केपी ओलीको आरोप, गठबन्धनलाई लुतोको संज्ञा, नेकपा एसलाई ‘माकुने पार्टी’

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ वैशाख १८ आइतबार
kppppp.jpg

हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले चुनाव भाँड्न खोजेको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नजिकिदै गरेको स्थानीय निर्वाचन केन्द्रित गरेर नेकपा एमाले मकवानपुरले हेटौंडामा गरेको आमसभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकार अझै पनि चुनावको पक्षमा नरहेको भन्दै चुनाव रोक्न खोजिरहेको आरोप लगाए ।

उनले स्थानीय तहको निर्वाचन फागुनभित्रै गरिसक्नु पर्नेमा ३० बैशाखमा तोकिएको निर्वाचन पनि रोक्न खोजेको आरोप लगाए । उनले गठबन्धनले रोक्न खोजेको निर्वाचन एमालेको दबाबका कारण ३० बैशाखमा तोकिएको बताए ।

ओलीले अहिलेको सरकार खान जन्मिएको भन्दै प्रदेश सरकारले मन्त्रालय थप्ने काममात्र गरेको आरोप लगाए । उनले गठबन्धनको सरकार राष्ट्रिय लुतो भएकाले बैशाख ३० गते सबैले राष्ट्रिय लुतो फाल्ने दिन मनाउनु पर्ने भन्दै कटाक्ष गरे ।

उनले यो सरकारले २४ लाख डोज भ्याक्सिन क्याप्सुल निले जस्तै निलेको बताए । उनले हालका स्वास्थ्य मन्त्री विरोध खतिवडाप्रति लक्षित गर्दै स्वास्थ्यमन्त्री अगत्स्य ऋषि जस्तो जति खाए नि नपुग्ने भएको बताए ।

उनले नेपाली कांग्रेसले आफ्नो घोषणा पत्रमा एमालेको अध्यक्षको नाम ४२ ठाउँमा लेखेको भन्दै व्यङ्ग्य गरे । उनले एमालेविरुद्ध वान टु वान गठबन्धन गरेर मात्र हैन देशभरकै शक्ति एकैसाथ आए पनि ‘हु इज एमाले जनताले बैशाख ३० मा देखाइदिने’ भन्दै गठबन्धनलाई चुनौती दिए ।

उनले एकीकृत समाजवादी पार्टीलाई माकुने पार्टी भन्दै उक्त पार्टी बाच्छाको मुखमा परेको अंगेरीको झारको संज्ञा दिए । ‘कहिले कहिले गाईको बाच्छाको मुखमा अङ्गेरीको झार पर्यो भने त्यसले तुरुन्तै निकालेर फालिहाल्छ, यो पार्टी पनि यस्तै हो, गैहाले पनि निस्किहाल्नुपर्छ’, उनले भने ।

उनले यो स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई हराउदै देश एमालेमय बन्ने बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेकाहरुलाई एमाले अध्यक्ष ओलीले टीका तथा खादा लगाएर स्वागत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ