- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बुटवल । बुटवलको ऐतिहासिक ‘बटौली बजार’लाई पर्यटकीय गन्तव्य बनाउने नेपाली कांग्रेससहितको सत्ता गठबन्धनले योजना अगाडि सारेको छ । आसन्न स्थानीय तह निर्वाचनमा दर्बिलोसंग होमिएको गठबन्धनले बटौली नामले पहिचान बनेको पुरानो बुटवलको ऐतिहासिक महत्वलाई आत्मसात गर्दै त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्ने योजना अगाडि सारेको हो ।
अंग्रेजलाई हराएको जीतगढी किल्लाको संरक्षण, त्यसको एतिहासिक महत्व झल्किने बृत्तचित्र निर्माण गर्ने र विश्वबजारमा प्रचारप्रसार गरी अन्तर्राष्ट्रिय पर्यटक आकर्षण गर्ने आफूहरुको योजना रहेको नेपाली कांग्रेस बुटवल नगर समितिका सभापतिसमेत रहेका गठबन्धनको तर्फबाट बुटवलका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले जानकारी गराए ।
मेयर उम्मेदवार पाण्डेयसहित गठबन्धनका उम्मेदवारहरुले शुक्रबार बुटवल वडा नं. १ मा घरदैलो गरेका थिए । ऐतिहासिक ‘बटौली’ बुटवल उपमहानगरपालिकाकाले वडा नं. १ हो । सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको तर्फबाट बुटवल उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका खेलराज पाण्डे र उपमेयर पदमा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ उम्मेदवार हुन् ।
त्यस अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अब्दुल रज्जाकले गठबन्धनका दललाई मत दिएर जिताउन त्यस क्षेत्रका मतदातासँग आग्रह गरेका छन् । उनले अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताएको प्रतिफल नमिठो भएको बताउँदै विकासको उदाहरण हेर्नको लागि पनि अहिले कांग्रेसको नेतृत्वमा बनेको गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरेका हुन् ।
कांग्रेस रुपन्देहीका निवर्तमान सभापतिसमेत रहेका नेता रज्जाकले बुटवलको लागि बस्तीबस्ती र मनमनमा भिजेका व्यक्तिलाई मेयरको उम्मेदवार बनाएको बताउँदै त्यस्ता उम्मेदवारलाई जिताउँदा पछि पछुताउन नपर्ने पनि दाबी गरे ।
घरदैलोमा मेयर उम्मेदवार पाण्डेयले पुरानो बुटवल (बटौली) को ऐतिहासिकतालाई जगेर्ना गरी सम्पदा क्षेत्रको रुपमा बिकसित गरिने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै उनले त्यस क्षेत्रको आयआर्जनलाई वढोत्तरी गर्नेगरी पर्यटन उद्योग÷व्यवसाय सञ्चालनको लागि वातावरण बनाईने बताए । त्यहाँ रहेका साना तथा कुटिर उद्योगको विकासको लागि योजना बनाएर अगाडि बढाउने पनि प्रतिवद्धता व्यक्त गरे । त्यस्तै उनले मणिमुकन्द सेन पार्कलाई व्यवस्थित र विस्तार गर्ने बताए ।
घरदैलोमा उपमेयर पदका उम्मेदवार चिनबहादुर गुरुङले संविधान र व्यवस्था रक्षाको लागि गठबन्धन गरिएको बताउँदै नेपाली जनताको रगत पसिनाबाट प्राप्त उपलब्धि रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले एमालेले जित्दा गएको पाँच वर्षमा के भयो भनेर फर्केर हेर्न पनि आग्रह गरे । उनले आफूहरु निर्वाचित भएपछि गरेका बाचा अक्षरश पालना गरिने प्रतिवद्धता व्यक्त गरे ।
घरदैलो कार्यक्रममा काँग्रेसका नेताहरु महासमिति सदस्य कुमार केसी, बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेशमान सिंह, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका पूर्व अध्यक्ष काजीमान श्रेष्ठ लगायतका नेताहरु पनि थिए । उनीहरुले मतदातालाई निश्चिन्त भएर गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे ।