- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
वीरगञ्ज । आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै पर्सामा जिल्ला सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।
जिल्लामा रहेका १६७ मतदानस्थल र ४०४ मतदान केन्द्रमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मतदानस्थलको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो तथा अन्तिम घेरामा नेपाली सेनाको टोली पचिालन गरिएको जानकारी दिनुभयो । जिल्लामा निर्वाचनका लागि नेपाल प्रहरी र म्यादी प्रहरीसहित दुई हजार ७०० सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।
यसैगरी सशस्त्र प्रहरीतर्फ ८०० जनशक्ति परिचालित भएको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रकाश पोखरेलले जानकारी दिए। भारतीय सीमा सुरक्षा बल ( एसएसबी) का युनिटसँग पनि समन्वय गरी सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनले बताए ।
निर्वाचनमा खटिएका सबै कर्मचारी तथा सुरक्षाकर्मी तोकिएको मतदान केन्द्रमा पुगिसकेका छन् । मतपत्र, मत पेटिकासहितको विभिन्न प्रकारका आवश्यक सामग्रीसहित खटिएका कर्मचारी र सुरक्षाकर्मी आ–आफ्नो खटिएको क्षेत्रमा पुगेका हुन् ।
पर्सामा रहेका कूल १४ पालिकाको विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनमा लागि कूल तीन हजार २९७ चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा हाल एक लाख ४८ हजार २८३ महिला र एक लाख ९१ हजार ५३७ पुरुष र १६ जना तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ मतदाता छन् । रासस