- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आगामी असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा पुनःउम्मेदवारी दिने घोषणा गरेका छन् । एन्फाको वर्तमान अध्यक्षसमेत रहेका शेर्पाले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
चार वर्षअघि शेर्पा आफ्नो प्यानलसहित एन्फा नेतृत्वमा निर्वाचित भएका थिए । उनले यसअघि कोभिडका कारण सोचेअनुरुप काम गर्न नसके पनि आगामी दिनमा नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने बताए ।
वर्तमान अध्यक्ष शेर्पाले पहिलो कार्यकालमा धेरै काम शुरु भएको र ती कामलाई पूर्णता दिन तथा नेपाली फुटबललाई अझै माथि उठाउनका लागि पनि आफूले फेरि उम्मेदवारी दिएको बताए ।
शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा विज्ञानराज शर्मा, कुमार केसी, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठ रहेका छन् । त्यसैगरी सदस्यमा दीपक थापा, प्रदीप यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरूङ, रामराजा गुरूङ, टीकाराम लामा, प्रदेशसिंह राठोर, भरतगुण थापा, अनिल श्रेष्ठ, रमेश ब्यञ्जनकार, मणिराज विष्ट र मनिष जोशी हुन् । महिला सदस्यमा भने उम्मेदवारी घोषणा गरिएको छैन ।
एन्फाको आसन्न निर्वाचनका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया शुरु भइसकेको छ । यसअघि हालका वरिष्ठ उपाध्यक्ष पङ्कज नेम्वाङले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् । उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले उम्मेदवारीको घोषणा गरेका छन् ।
नेम्वाङ शेर्पा टिमबाटै वरिष्ठ उपाध्यक्ष बनेका थिए । तर यसपालि भने त्यही खेमाबाट नै फरक धार उत्पन्न भएको छ । उनले शेर्पाले सहमतिअनुसारको काम नगरेको आरोप लगाउँदै आएका छन् ।
शेर्पाले एन्फामा सुशासनको रटान लगाउँदै आएका छन् । यसअघि तत्कालीन अध्यक्ष गणेश थापाले भ्रष्टाचार गरेको आरोप लगाउँदै भ्रष्टाचारमुक्त अभियानमा लागेका थिए ।
थापालाई २०७२ सालको कार्तिकमा फिफाले १० वर्षे प्रतिबन्ध लगाएको थियो । अहिले थापा समूहले नेम्वाङलाई सघाउने अपेक्षा पनि गरिएको छ ।