arrow

इमरान खानको उपद्रो: ६ दिनमा निर्वाचन घोषणा नगरे देशभर हंगामा गर्ने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
pakistan-imran-khan-protest-pakistan.png

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आगामी ६ दिनभित्र नयाँ चुनाव गराउन पाकिस्तान सरकारलाई चेतावनी दिएका छन् ।

बिहीबार बिहानै इस्लामावादमा हजारौं प्रदर्शनकारीहरूको र्‍यालीमा बोल्दै उनले ६ दिनमा चुनाव घोषणा नगरे लाखौं जनतासहित राजधानीमा र्‍याली गर्ने चेतावनी दिएका छन् ।

 ‘सरकारले संविधानसभा विघटन गरेर निर्वाचनको घोषणा नगरेसम्म मैले यहीँ बस्ने निर्णय गरेको छु, तर विगत २४ घण्टामा यिनीहरू (सरकार) ले राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको मैले देखेकाे छु,’ ६९ वर्षीय पूर्वप्रधानमन्त्री खानले भनेका छन् ।

खानका समर्थक र प्रहरीबीचको झडपले उग्ररुप लिएपछि यसअघि पाकिस्तान सरकारले संसद, राष्ट्रपति र प्रधानमन्त्री शहबाज सरिफको कार्यालय लगायतका महत्वपूर्ण भवनमा सुरक्षाका लागि सेना बोलाएको थियो ।

पूर्वप्रधानमन्त्री खानले आफ्नो सम्बोधनका क्रममा देशभरि भएको हिंसामा आफ्ना पाँच जना समर्थक मारिएको दाबी गरेका छन्। यस विषयमा पाकिस्तान सरकारले कुनै प्रतिक्रिया दिएको छैन ।

यसअघि खानले आफ्ना माग पूरा गराउन लामो धर्ना दिने बताएका थिए । पूर्व क्रिकेट स्टारबाट राजनीतिज्ञ बनेका खान साढे तीन वर्षभन्दा बढी प्रधानमन्त्री बनेपछि गत महिना संसदमा अविश्वासको मत लगाउँदै पदच्युत गरिएका थिए ।

त्यसयता उनी संयुक्त राज्य अमेरिका समर्थित षड्यन्त्र र शरीफसँगको मिलेमतोका कारण आफुलाई पदबाट हटाइएको भन्दै देशभर जुलुसहरू आयोजना गर्दै आएका छन् ।

खानले उत्तरपश्चिमी शहर पेशावरबाट इस्लामाबादतर्फ आफ्नो र्‍याली शुरु गरेका थिए । यस आन्दोलन सहितको र्‍यालीमा कम्तीमा एक दर्जन प्रदर्शनकारी र कैयौं प्रहरी घाइते भएका छन् ।

खान आफू हेलिकप्टरबाट इस्लामाबादको लगभग एक हजार किलोमिटर उत्तरपश्चिममा राजमार्गमा पुगेका थिए । त्यहाँ उनले प्रहरी क्र्याकडाउनको निन्दा गर्दै आफ्ना समर्थकहरूलाई र्‍यालीमा सामेल हुन आग्रह गरेका थिए ।

बुधवारको र्‍यालीअघि अधिकारीहरूले दर्जनौं ढुवानी कन्टेनर र ट्रक रोडमा राखेर प्रदर्शनकारीहरुलाई रोक्न खोजेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ