arrow

तिलोत्तमाको मेयरमा कांग्रेसका रामकृष्ण र उपमेयरमा एमालेकी जगेश्वरदेवी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
tilottama-ramkrishna-khand.jpg

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई झिनो मतले पराजित गर्दै खाँण विजयी भएका हुन् । 

उनले २४ हजार ३९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका चापागाईंले २३ हजार ६३१ मत प्राप्त गरेका थिए । ७६५ मतको अन्तरले खाँण विजयी भएका हुन् ।                 

उपप्रमुखमा भने नेकपा एमालेकी जगेश्वरदेवी चौधरी विजयी भएकी छिन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका हेमन्त पाण्डेलाई ११ हजार मतान्तरले पराजित गर्दै चौधरी विजयी भएकी हुन् । 

कांग्रेसका रुपन्देही जिल्ला सभापतिसमेत रहेका गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ रामकृष्ण २०७४ सालको निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग दुई हजार सात सय मतान्तरले पराजित भएका थिए । ८५ हजार मतदाता रहेको तिलोत्तमामा कुल ६४ हजार ७०७ मत खसेको थियो ।

तिलोत्तमा एमाले नेता घनश्याम भुसालको गृहनगर हो भने एमाले उपाध्यक्ष विष्णु पौडेलको पनि निर्वाचन क्षेत्र पर्दछ । गृहमन्त्री खाँणको गृहनगर र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मतदान गरेको क्षेत्रसमेत हो । तिलोत्तमामा २०७४ सालमा एमालेले प्रमुख र उपप्रमुख सहित १३ वडाध्यक्ष जितेको थियो ।

यसपटक भने काँग्रेसले नौ र एमालेले सात वटा वडाध्यक्ष जितेको छ । वडा नं १, ४, ७, १०, ११, १२ र १५ मा नेकपा एमालेले विजय हासिल गरेको छ भने वडा नं २, ३, ५, ६, ९, १३, १४, १६ र १७ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । तिलोत्तमामा कांग्रेस र माओवादीको गठबन्धन थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ