arrow

तिलोत्तमा जितेपछि रामकृष्णले भने –शासक होइन जनसेवक भएर काम गर्छु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
ramkrishna-khand-tilottoma-mayor-2079.jpg

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई पराजित गरेका हुन् । 

निकै महत्वपूर्ण स्थानको रुपमा तिलोत्तमालाई लिइन्छ । यो क्षेत्र गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर हो । एमाले नेता घनश्याम भुसालको गृह नगर हो । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको निर्वाचन क्षेत्र हो । 

यो क्षेत्र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मतदान गरेको क्षेत्रसमेत हो । तिलोत्तमामा २०७४ सालमा एमालेले प्रमुख र उपप्रमुख जितेको थियो । यसपालि उपप्रमुखमा एमालेकै जगेश्वरदेवी चौधरी विजयी भएकी छिन् । 

को हुन् रामकृष्ण खाँण ?
२०२२ साल माघ १७ गते रुपन्देहीको मणिग्राममा जन्मिएका रामकृष्ण खाँण नेपाली कांग्रेस रुपन्देहीका हालका सभापतिसमेत छन् । नेता खाँणका बुबाआमा रामकृष्ण नजन्मदै २०१७ सालमा स्याङ्जा बिसिङकोट (हालको चापाकोट) बाट रुपन्देही झरेका हुन् । 
 
नेपाली कांग्रेसको राजनीति गरे पनि आम जिल्लाबासीका लागि परी आउँदा साझा नेताको रुपमा सहयोगी भूमिका खेल्ने भएकाले उनी रुपन्देहीको राजनीतिक वृत्तमा चर्चित र लोकप्रिय छन् । 

उनी गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका सहोदर भाइ हुन् । उनका बुबा पनि कांग्रेसको राजनीतिमा सक्रिय थिए । रामकृष्ण २०३५ सालदेखि नै आफ्ना बुवा र दाइको पदचाप पछ्याउँदै पञ्चायत विरोधी आन्दोलनमा लागेका थिए ।

२०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववीयू इकाइको कोषाध्यक्ष भएका उनी २०५४ सालमा कांग्रेस रुपन्देहीको जिल्ला कार्यसमिति सदस्य भए । त्यसपछि उनी २०६६ सालमा जिल्ला सचिव भए । 

त्यसपछिका कार्यकाल पनि सचिव भएका उनी गत मंसिरमा सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनबाट कांग्रेस रुपन्देहीको सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् । 

यसअघिको स्थानीय निर्वाचनमा पनि उनी तिलोत्तमाको मेयरमा उठेर झिनो मतले पराजित भएका थिए  ।

प्रोफाइल–
नाम – रामकृष्ण खाँण 
जन्म – बि स २०२१ माघ १७ गते
बुबा – इन्द्रबहादुर खाँण
आमा –टोपकुमारी खाँण
स्थान –तिलोत्तमा नगरपालिका वडा नं ८ रुपन्देही
श्रीमती – सिमा खाँण 
छोरा – रोहण खाँण 
छोरी – रुपालि खाँण 
दाजुहरु– हरि कृष्ण खाँण,बाल कृष्ण खाँण 
भाई – स्याम कृष्ण खाँण,
शिक्षा –स्नातक तह
– श्री शान्ति नमूना माध्यमिक विद्यालय मणिग्राम, बुटवल बहुमुखी क्याम्पस र त्रिभुवन विश्व विद्यालय, काठमाडौं ।

उनले बुटवल बहुमुखी क्याम्पसमा आईए र कीर्तिपुर क्याम्पसबाट स्नातक सम्मको अध्ययन सकेका छन् । 

राजनीतिः 
२०३५ सालदेखि पञ्चायत विरोधी आन्दोलनमा सहभागी, 
२०३८ सालमा मेलमिलाप दिवस मनाउने क्रममा बुटवलमा प्रहरीको धरपकडमा मात्र परेनन् केही समय हिरासतमा बसे ।
त्यसपछि २०४० सालको सुरजपुरा घटनामा स्वर्गीय गिरिजाप्रसाद कोइराला लगायतका नेताहरुको सुरक्षार्थ खटिएका उनी घटना लगत्तै घाइतेको उपचार तथा उद्धारमा सक्रियतापूर्वक लागे । 

२०४२ सालको सत्याग्रहका बेला अग्रमोर्चामै खटिएका उनी भाग्यवश जेल जानबाट जोगिए पनि जेल परेकाहरुको रिहाइ, खानपान, खवर आदानप्रदानको काममा सक्रिय भए । 

२०४६ को जनआन्दोलनमा भैरहवा उत्तरका सबै गाउँका युवाहरुको नेतृत्व गर्दै आन्दोलनमा होमिए । 

शासक होइन जनसेवक भएर काम गर्छु – खाँण
तिलोत्तमा नगरपालिकामा प्रमुखमा निर्वाचित भएपछि रामकृष्ण खाँणले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । 

मतपरिणाम सार्वजनिक लगत्तै पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफ्ना एजेण्डालाई मतदाताले सदर गरेकोमा धन्यवादसमेत दिए । 

उनले भने, ‘हामीले अब सबैलाई मिलाएर सबैसँग मिलेर काम गर्छाैं, तिलोत्तमालाई देशमै उत्कृष्ट, भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउने मेरो प्रतिबद्धता छ, यो पूरा गर्छु ।’

उनले अगाडि भने, ‘मलाइ आफ्नो मत दिएर जिताउनु हुने सबैप्रति कृतज्ञ छु, मेरो अभियानमा साथ दिने सबैलाई एकमुष्ट धन्यवाद दिन चाहन्छु ।’

उनले शासकको रुपमा नगरपालिकामा नबस्ने भन्दै जनताकै सेवामा केन्द्रित रहने र बाँकी जीवन पनि नगरबासीकै सेवा गरेर बिताउने बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ