- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्पेनिश टेनिस स्टार रफाइल नदालले फेरि एक पटक आफू सर्वोत्कृष्ट टेनिस खेलाडी भएको प्रमाण पेश गरेका छन् । उनले फ्रेन्च ओपनको इतिहासमा सर्वश्रेष्ठ नै रहेको प्रमाण पेश गरेका हुन् ।
फ्रेन्च ओपनको १४ औं उपाधितर्फ अगाडि बढेका पूर्व विश्व नम्बर एक नदालले साविक विजेता सर्वियन हालका विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचलाई पराजित गरे ।
मंगलबार राति रोँला ग्यारोँमा भएको क्वार्टरफाइनलमा नदाल ६–२, ४–६, ६–२ र ७–६ ले विजयी भए । उनले जितका लागि कोर्टमा चार घण्टा संघर्ष गरेका थिए ।
३५ वर्षे नदालले जितपछि भने, ‘नोभाकविरुद्ध जित हासिल गर्नु भनेको शुरुदेखि नै अन्तिमसम्म तिम्रो उत्कृष्ट खेल नै हो ।’ उनले जितपछि पेरिसको माया भरिएको भीडलाई पनि धन्यवाद दिएका छन् । उनले मंगलबारको रातिलाई आफ्नो करियरको जादूमयी रात भनी चर्चा गरेका छन् ।
पाँचौं वरियताका नदालले रोलाँ ग्यारोँमा अहिलेसम्मको जितलाई ११३ भिडन्तमा ११० पुर्याएका छन् । यो कीर्तिमान कसैले पनि बनाउन सकेका छैनन् ।
हारपछि जोकोभिचले पनि ‘नदालले उनी महान् च्याम्पियन हुन् भन्ने प्रमाण पेश गरेका छन् । र उनी मानसिक रुपले मजबूत छन् । शंका छैन उनी लायक छन्’ भनेका छन् ।
सर्वाधिक २१ औं पटकका ग्राण्ड स्लाम विजेता नदालले अब सेमिफाइनलमा तेस्रो वरीयताका एलेक्जेन्डर जेभरेभसँग शुक्रबार खेल्नेछन् ।
२५ वर्षे जर्मन खेलाडी जेभरेभले कार्लोस एल्काराजलाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।