arrow

वामगठबन्धनको चर्चासँगै लोकतान्त्रिक गठबन्धन बनाउन देउवालाई महन्थको प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २१ शनिबार
deuba-thakur.jpg

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आगामी संसदीय निर्वाचनमा लोकतान्त्रिक दलहरूको गठबन्धन गरेर अघि बढ्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् ।
 
प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका ठाकुरले लोकतान्त्रिक दलहरुबीच सहकार्य गर्नका लागि जोड गरेका हुन् । लोसपाको कार्यकारिणी समितिको बैठक भइरहेको बेला बैठकबाट उठेर ठाकुर सिधै बालुवाटार पुगेका थिए । ठाकुर हिँडेपछि लोसपाको कार्यकारिणी समितिको बैठक स्थगित भएको थियो । अर्को बैठक आइतबार बस्ने भएको छ । 

स्रोतका अनुसार प्रधानमन्त्रीसँगको भेटमा ठाकुरले लोकतान्त्रिक दलहरूले गठबन्धन गरेमा यस्तो गठबन्धन प्राकृतिक हुने धारणा राखेका थिए । संसदीय निर्वाचनमा वामगठबन्धनको विषयमा चर्चा भइरहेका बेला ठाकुरले यस्तो प्रस्ताव राखेका हुन् । 

लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले शनिबार प्रधानमन्त्री देउवा र लोसपा अध्यक्षवीच भेट भएको बताए । भेटमा भएको कुराकानीको बारेमा आफू जानकार नभएको उनको भनाइ छ । तर लोसपा स्रोतका अनुसार आगामी संसदीय निर्वाचनलाई केन्द्रित गरेर उक्त भेट भएको थियो । 

लोसपाका एक नेताले भने, ‘अहिले कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसबीच जसरी गठबन्धन भइरहेको छ । त्यो प्राकृतिक छैन । त्यसैले यो गठबन्धन जसबेला पनि भत्कन सक्छ ।’ ती नेताले भने, ‘त्यसैले नेपाली कांग्रेस र हामीबीच गठबन्धन भयो भने त्यो प्राकृतिक हुनेछ । हाम्रो चाहना र प्रयास पनि यही हो ।’

ओलीलाई बाइपास गरेर वामगठबन्धनको तयारी

शनिबार देउवा र ठाकुरबीच एक्ला एक्लै भेट भएको थियो । देउवालाई भेट्न जानुअघि ठाकुरले लोसपाका शीर्ष नेताहरूसँग सरसल्लाह गरेका थिए । 

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा लोसपाले अपेक्षाकृत भोट ल्याउन सकेन । त्यसैले आगामी निर्वाचनमा कुनै एक ठूलो दलसँग गठबन्धन गरेर अघि बढ्न पार्टीभित्रै नेतृत्वमाथि दबाब बढेको छ । 

लोसपाका धेरै नेताहरुले नेपाली कांग्रेससँग गठबन्धन गर्न चाहेका छन् । तत्काल जनता समाजवादी पार्टी जसपा र लोसपाबीच गठबन्धन हुने अवस्था छैन । एमालेसँग तालमेल गर्न लोसपाका धेरैजसो नेताहरु त्यति उत्सुक छैनन् । अर्कातर्फ लोसपाका कतिपय नेताहरु पहिले कांग्रेस थिए । ठाकुर स्वयं कांग्रेसी थिए ।

स्थानीय तहको निर्वाचनअघि पनि कांग्रेसका सभापति देउवा र लोसपाका नेताहरुबीच पटक पटक भेटवार्ता भएको थियो । स्थानीय तहको निर्वाचनमै लोसपाका नेताहरुले कांग्रेससँग गठबन्धन गर्न खोजेका थिए । 

तर कांग्रेसले सत्तारुढ दलहरुसँग गठबन्धन गरेपछि लोसपासँगको चुनावी तालमेल गर्ने प्रयास असफल भएको थियो । 

संसदीय निर्वाचनमा वामगठबन्धन भएमा नेपाली कांग्रेस र लोसपाबीच तालमेल हुन सक्ने अनुमान गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ