arrow

ओलीलाई बाइपास गरेर वामगठबन्धनको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
uml-maobadi-as-election-.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आएपछि नेपालका वाम दलहरुले आत्मसमीक्षाको बाटो अपनाउन थाले पनि त्यसलाई बाहिर ल्याएका छैनन् । एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु जम्काभेट हुँदा पनि बोलचाल गर्ने अवस्थामा छैनन् । तर पनि उनीहरु भित्रभित्रै आत्मसीमक्षाको बाटोमा लागेका हुन् । 

सामान्यतया एमालेका केही नेता र माओवादीका नेताहरुले आगामी निर्वाचनलाई लक्षित गरी आत्मसमीक्षा गरी वाम गठबन्धन गर्ने खेलमा लागेका छन् । एमालेका शीर्ष तहका नेताहरु र माओवादीका नेताहरुले यो विषयमा गोप्य ढंगले काम गर्ने सहमतिका साथ अघि बढेको स्रोतको दाबी छ । 

‘अब हाम्रो पनि राजनीतिक भविष्य छ । केपी ओली वा प्रचण्डको मात्रै होइन । उनीहरुले जे भन्छन् त्यो मान्य हुन्छ भन्ने होइन । अब केपी ओली वा प्रचण्डमध्ये कोही एकले  ‘सेक्रिफाइस’ गर्नुपर्छ भनेर एउटा समूह लागेछ । त्यसमा खासगरी ओलीलाई माइनस गर्ने गरी त्यसले काम गरिरहेको छ’, एमाले निकट उच्च स्रोतले भन्यो । 

यतिबेला प्रचारबाजी नगरिकन वाम समर्थक नेताहरूले गठबन्धनको विषयमा भित्रभित्रै तयारी गरिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिका के हुने भन्ने बारेमा कहीँ कतै छलफल गरेका छैनन् । 

२०७७ पुस ५ गते संसद विघठन गरेको चार्ज लगाएर एमाले अध्यक्ष ओलीलाई बाहिर राखेर गठबन्धन गर्ने प्रयास पनि सफल नहुने देखिएपछि शुरुमा एमालेबाट विभाज भएको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको व्यवस्थापनको विकल्प खोज्न थालिएको छ । 

कांग्रेसको बल र सहयोगमा नेकपा एसले महानगरमा आफ्नो उपस्थिति बलियो देखाएको छ । माओवादीको भन्दा बढी सीट नेकपा एसको रहेकै कारण यतिबेला एमाले र माओवादीका नेताहरुले वामगठबन्धनको कुरा उठाउँदा पहिलो प्राथमिकता माधव नेपालको व्यवस्थापनको कुरा उठाएका हुन् । 

त्यसो हुँदा एमाले र एस पार्टीलाई पुनः एकीकरण गरेर अघि बढ्नु पर्ने र त्यसमा दुई अध्यक्षसहित समान हैसियतको व्यवस्था गर्नुपर्ने विषयले पनि प्राथमिकता पाएको छ । 

यद्यपि एमाले महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्यहरु खगराज अधिकारी, भानुभक्त ढकाल, राजन भट्टराई लगायतका नेताहरु यो विषयमा सहमत हुन नसक्ने अवस्थालाई ध्यानमा राखिएको छ । 

तर इश्वर पोखरेल बाहेक अधिकांश उपाध्यक्षहरु यो विषयलाई केन्द्रमा राखेर माधव नेपाललाई पार्टीमा ल्याउनु पर्ने र उनलाई पार्टीमा ल्याएपछि माओवादीसँग गठबन्धन गरेर जान सकिने विषयमा सहमत छन् । 

तर माओवादीका नेताहरुले माधव नेपालसहितको गठबन्धन गर्न खोजिरहेका छन् । कांग्रेससँगको गठबन्धन धेरै प्रभावकारी नभएको र कार्यकर्ताबाट धोका हुने भएकाले त्यसको विकल्पमा एमालेसहितको गठबन्धन नै हो भन्ने निष्कर्षमा पुगेका माओवादी नेताहरुले कांग्रेससँग पनि बार्गेनिङ गरिरहेका छन् । 

कांग्रेससँग बार्गेनिङ गरिरहेका माओवादी केन्द्रका नेताहरुले एमालेसँग पनि विश्वास गर्न सकिरहेका छैनन् । केपी ओलीलाई माइनस गर्ने तहबाट कुरा गर्न र सम्झौता गर्न नसकिने उनीहरुको ठम्याइ रहेको छ ।  

एमालेबाट विभाजन भएर बनेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले एमालेलाई विश्वास गर्न सकिरहेको छैन । माओवादीले  विगतमा चुनावी गठबन्धनमा एमालेसँग बार्गेनिङ गरेर कांग्रेसभन्दा बढी सीट हात पारेको थियो । अहिले कांग्रेससँग गठबन्धन गरेर एमालेभन्दा ठूलो हुने दाउमा रहेको छ । 

विगतमा कांग्रेसलाई धोका दिएर माओवादीले एमालेसँग गठबन्धन गरेको थियो । गठबन्धनपछि पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी केन्द्र आफ्नै कारणले विभाजित भएका थिए । 

अहिले स्थानीय तह निर्वाचन परिणाम आइसकेपछि सबैका कमजोरी औंल्याउँदै वाम गठबन्धन गर्नुपर्ने महसुस गरेका यी तीन दलबीच विश्वासको अभाव भने खट्किएको छ ।

 ‘पछिल्लो परिस्थिति र निर्वाचन समेतलाई ध्यानमा राखेर भित्रभित्रै वाम गठबन्धनको कुरा चलेको मात्र होइन गम्भीर छलफल भएको छ तर नेताहरूबीच विश्वासको अभाव देखिएको छ’, माओवादीका एक नेताले भने ।  

पछिल्लो समय प्रमुख विपक्षी एमालेले पाँचदलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको अवस्थामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी कमजोर शक्ति नभएकाले भोलिका दिनमा कांग्रेस दम्भी भए एमालेकै हालतमा पुर्याइदिने भन्दै धम्क्याएका छन् । 

एमालेले वामगठबन्धनको विषयमा निकै ‘होमवर्क’ गरिसकेको स्रोतको दाबी छ । संसदीय निर्वाचनअघि नै वाम गठबन्धनको प्रस्ताव अघि बढेमा एमाले सकारात्मक हुने सन्देश माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसम्म पुगेको छ । 

एमाले र माओवादी केन्द्रका नेताहरुले सो होमवर्क गरेका कारण माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई धम्की दिएको भन्ने चर्चा राजनीतिक वृत्तमा चलेको छ । जेठ ११ मा एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेसँगै वामगठन्धनको प्रस्ताव पनि अघि बढेको स्रोतको दाबी छ ।  

दुई नेताबीचको भेटपछि एमाले–जसपा सहकार्यको चर्चा चलेको थियो । पाँचदलीय गठबन्धनको बैठकमा स्थानीय निर्वाचनमा कांग्रेसका नेता–कार्यकर्ताले अन्य घटकका उम्मेदवारई सोचेजति सहयोग नगरेको विषयमा छलफल भएको थियो । 

सत्ता गठबन्धनको सोमबार बसेको बैठकमा निर्वाचनसम्बन्धी समीक्षा गर्दा कांग्रेसले सहयोग नगरेको विषयले प्राथमिकता पाएको थियो । यही गठबन्धनलाई निरन्तरता दिँदा स्थानीय निर्वाचनमा जस्तै आउँदो संसदीय निर्वाचनमा पनि कांग्रेसबाट असहयोग होला कि भन्ने डर माओवादी र नेकपा एसलाई छ । 

एमालेलाई निर्वाचनमार्फत संघीय सरकारमा पुग्न संसदीय निर्वाचन जित्नैपर्ने आवश्यकता छ । तर वर्तमान सत्ता गठबन्धन कायम भए एमालेको त्यो सपना पूरा नहुन सक्छ । त्यसै भएर सत्ता गठबन्धनबाट माओवादी केन्द्र र नेकपा एसलाई अलग गराएर वाम गठबन्धन गर्नुपर्ने वाध्यतामा एमाले छ । 

एमाले उपाध्यक्ष विष्णु पौडेलले अहिले नै यो विषयमा कुराकानी नहुने बताएका छन् । स्थानीय तहको निर्वाचन र संघीय संसदको निर्वाचन फरक हुने भएकाले एकै ढंगले हेर्न नहुने उनको धारणा छ । उता माओवादीका नेता वर्षमान पुनले पनि वामगठबन्धनको विषयमा केही पनि कुराकानी अघि नबढेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ