arrow

नवयुग नेतृत्वको नेपाली फुटबल टिमको कुवेतमा शुरु भयो अभ्यास 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
nepal-football-training-session-kuwait-2022.jpg

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले अभ्यास थालेको छ । कुवेत सिटीमा रहेको नेपाली टिमले अहमादीस्थित अल शवाव स्टेडियममा आइतबार पहिलो दिनको अभ्यास सत्र पूरा गरेको हो । 

नेपालले स्थानीय समयअनुसार आइतबार बेलुकी ७ बजे (नेपालमा पौने १० बजे) अभ्यास गरेको हो । नेपाली टिम केही समय कतारको दोहामा अभ्यास पूरा गर्दै कुवेत पुगेको हो । कतारमा नेपालले टिमोर लिस्टे, श्रीलंका र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ टिमोरसँग २–२ र श्रीलंकासँग १–१ गोलको बराबरी खेल्दा नेपाल ओमानसँग २–० ले पराजित भएको थियो । 

यसपछि नेपाली टिम शनिबार कुवेत पुगेको थियो । नेपालले सोमबारसमेत सोही मैदानमा अभ्यास गर्नेछ । स्थानीय समयअनुसार बेलुकी ७ बजे शुरु हुने अभ्यासमा नेपाली समर्थकलाई आफ्नो राष्ट्रको अभ्यास सत्र हेर्न प्रवेश दिने प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बताएका छन् ।  

हाल टोलीमा २३ खेलाडीसहित नौ अधिकारी छन् । समूह ए मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । 

हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली एसियन कप २०२३ मा छनोट हुने छ । 

नेपाली टिमको नेतृत्व नवयुग श्रेष्ठले गरिरहेका छन् । उनले पहिलो पटक नेपाली टिमको नेतृत्व गर्ने अवसर पाएका हुन् । किरण चेम्जोङजस्ता सिनियर खेलाडीहरुले आफ्ना हकहितका कुरा उठाउने क्रममा प्रशिक्षकसँग मनमुटाब गरेर क्लोज क्याम्प छाडेपछि नेपाली टिम युवा खेलाडीहरुले भरिएको छ । 

त्रिभुवन आर्मी क्लबको नेतृत्व गरिरहेका नवयुगले राष्ट्रिय टिम नै नेतृत्व गर्ने अवसर पाएका हुन् । 



नयाँ