- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रको विश्वरुपा मन्दिर भूकम्पले भत्केको सात वर्षपछि पुनःनिर्माणका लागि क्षमापूजासहित शिलान्यास गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पशुपति क्षेत्रस्थित मृगस्थलीमा रहेको विश्वरुपा मन्दिर क्षतिग्रस्त भएको थियो ।
हनुमानढोकाको लायकू बहाल क्षेत्रमा बेवारिसे रहेको मूर्तिलाई जङ्गबहादुर राणाले विसं १९२४ मा पशुपति क्षेत्रको मृगस्थलीमा स्थापना गरेको इतिहास छ । प्रतिमाशास्त्रका पुस्तकहरुमा विश्वरुपाको वर्णन गर्दा ब्रह्मा, विष्णु र महेश्वरलगायत सबै देवता समाहित भएको उल्लेख गरिएको छ । धेरै बाहु, शिर, पाउ भएको विश्वरुपा व्यापक र जन्म मृत्युको कारण भएको ती ग्रन्थमा उल्लेख छ । पुराणहरुमा शिव, विष्णु र ब्रह्मालगायत अरू देवीदेवताको पनि विशिष्ट र व्यापक स्वरुपलाई विश्वरुपा भनी उल्लेख गरिएको छ ।
विष्णुको विश्वरुपाको स्वरुप लिच्छविकालदेखि नै नेपालमा प्रसिद्ध रहेको थियो । चाँगुनारायणमा विष्णुको विश्वरुपा मूर्ति छ । गीतामा वर्णन गरिएअनुसार महाभारत युद्धमा कृष्णले अर्जुनलाई देखाएको स्वरुपकै आकार चाँगुमा रहेको कोषले प्रकाशन गरेको ‘पाशुपत क्षेत्रका सांस्कृतिक सम्पदा (मूर्त र अमूर्त)’ नामक ग्रन्थमा उल्लेख छ । चाँगु र मृगस्थली क्षेत्रमा रहेको विश्वरुपा मन्दिरका बीचमा मेल नरहेको ग्रन्थमा उल्लेख गरिएको छ । यहाँको मन्दिरमा विश्वरुपा र विश्वरुपाा एवं कामेश्वर र कामेश्वरी आलिङ्गन गरिरहेको मुद्राको मूर्ति छ ।
मूर्तिमा शिव र शक्ति दुवैका धेरै हात एवं टाउको देखाइएका छन् । हातमा विभिन्न थरीका हतियार देखाइएको छ । मूर्तिको अघि श्रीयन्त्र राखिएको छ । श्रीयन्त्रमै पूजा आराधना हुने गरेको छ । प्रत्येक अष्टमीका दिन विश्वरुपााको विशेष पूजा गर्नुपर्ने विधान रहेको छ । भूकम्पले भत्किएको मन्दिर सात वर्षपछि आज ज्येष्ठ शुक्ल अष्टमीको दिन पारेर पुनःनिर्माणका लागि शिलान्यास गरिएको हो । यहाँ १२ फिट अग्लो धातुका पाता जोडिएको विश्वरुपाको मूर्ति देख्न सकिन्छ ।
अर्को मतअनुसार बौद्ध धर्मसँग सम्बन्धित सम्बर देवताको मूर्ति विश्वरुपा मन्दिरमा राखिएको भन्ने भनाइ पनि छ । यसैले विश्वरुपा मन्दिर हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको समान आस्थाको केन्द्रका रुपमा रहेको छ । यहाँ दुवै धर्मावलम्बीको उत्तिकै भीड लाग्ने गरेको छ ।
मन्दिर पुनःनिर्माणको आज शिलान्यास गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले अरूभन्दा भिन्न स्वरुपको विश्वरुपा मन्दिर पुनःनिर्माण गरी देश विदेशका पर्यटकका लागि आकर्षण गर्न सकिने बताए । कामेश्वर र कामेश्वरी आलिङ्गन गरेको अवस्थामा रहेको मूर्ति भएकाले यस्तो मूर्ति हेर्न देश विदेशका धार्मिक पर्यटकको यहाँ भीड लाग्ने उनको भनाइ थियो ।
“पशुपति क्षेत्रमा बग्ने पानीलाई स्वच्छ बनाउन मैले पहिले पनि कोषलाई निर्देशन दिएको थिएँ, पशुपति क्षेत्रमा रहेको क्रियापुत्रीका लागि जाडोमा तातो र गर्मीमा चिसो पानीको व्यवस्था गर्न पनि मैले निर्देशन दिइसकेको छु, कोषले यसको कार्यान्वयन गरोस्, पशुपति क्षेत्रको वाग्मतीलाई कसरी स्वच्छ बनाउने भन्ने विषयमा यही जेठ २९ गते हुने कोष सञ्चालक परिषद्को बैठकमा छलफल हुनेछ,” मन्त्री आलेले भने ।
पशुपति क्षेत्रको ५३४ रोपनी जग्गामध्येमा अतिक्रमण भएर ५०६ रोपनी मात्र बाँकी रहेकाले अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल गर्ने उनको प्रतिबद्धता व्यक्त गरे । नेपाल-भारत मैत्री पशुपति धर्मशाला भक्तजनका लागि निर्माण गरिएकाले यहाँ बतास कम्पनीलाई होटल चलाउन नदिने मन्त्री आलेको भनाइ छ । कोषको नाममा गोठाटारमा रहेको जग्गा पनि अतिक्रमण भएकाले अतिक्रमणकारीलाई कार्बाही गरिने कोषले जनाएको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले आर्थिक वर्ष २०७०/७१ देखि पशुपतिलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखी काम अघि बढाइएको जानकारी दिए । साँस्कृतिकसँगै आर्थिक रुपान्तरणको लक्ष्यले कोषलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाइएको उल्लेख गर्दै उनले यसै आर्थिक वर्षमा गुरुयोजना निर्माण सम्पन्न हुने जानकारी दिए ।
मन्त्रालयका सचिव महेश्वर न्यौपानेले विश्वरुपा मन्दिर स्वीकृत ड्रइङ, डिजाइनअनुसार नै पुनःनिर्माण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । सम्झौतामा तोकिएको समय अगावै काम सन्पन्न गरी खरिद कानुनअनुसार पुरस्कार लिन पनि उनले आह्वान गर्नुभयो ।
“बनारसमा विश्वनाथ मन्दिरलाई आमूल परिवर्तन गरिएको छ, त्यहाँ यहाँकै स्वरुपमा पशुपतिनाथको पनि मन्दिर रहेछ, मुस्लिम समुदायको मस्जिद पनि त्यहाँ रहेछ, नेपालमा अहिलेसम्म पशुपति क्षेत्रमा अन्य समुदायको अतिक्रमण नभएकाले यसको महत्व विश्वमै छ,” सचिव न्यौपानेले भने ।
कोषका सदस्यसचिव डा मिलनकुमार थापाले पशुपति क्षेत्रका ८१८ सम्पदामध्ये भूकम्पले ९७ वटामा क्षति गरेको जानकारी दिदै ६४ वटाको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिए । विश्वरुपा मन्दिर भूकम्पले भत्किएपछि सुरक्षित रुपमा राखी सात वर्षपछिमात्र पुनःनिर्माणमा शुरु गर्न सकिएको उनले बताए ।
कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले मन्दिर पुनःनिर्माणका लागि चालु आर्थिक वर्षमा रु १० करोड बजेट विनियोजन भएको बताए । उनले मन्दिरसहित वरिपरिको सत्तल पुनःनिर्माणका लागि रु ४५ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । बहुवर्षीय योजनाअन्तर्गत मन्दिर पुनःनिर्माणको ठेक्का भएको छ ।
काठमाडौं महानगरपालिका-८ का अध्यक्ष आशामान सङ्गतले पशुपति मूल मन्दिरअघिको ढुङ्गेधारा रहेको स्थानमा पहिले वडा कार्यालय रहेको उल्लेख गर्दै विसं २०५९ अधिग्रहणका क्रममा भत्काइएकाले बनाउने व्यवस्था गरिदिन माग गरे । रासस