- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखराको ल्याण्डफिल भरतपोखरीमा सारिने भएको छ । महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीमा ल्याण्डफिल स्थापनाका लागि पूर्वाधार निर्माण र बजेट व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
महानगरले साविक भरतपोखरी गाविसको ६ र ७ नम्बर वडामा पर्ने पञ्चेपाटन, जौबारी, कुमालटार लगायतका क्षेत्रमा ल्याण्डफिलका लागि जग्गा प्रस्ताव भएकोमा त्यहाँ नै ल्याण्डफिल निर्माण गर्ने निर्णय गरेको हो । यस क्षेत्रमा १०० रोपनी सार्वजनिक जग्गा रहेको छ भने दुई ठाउँमा गरी ९५ रोपनी अधिग्रहण गर्न लागिएको छ ।
यसअघि पोखरा-१६ र २० को सीमानामा ल्याण्डफिल सार्ने निर्णय गरेकोमा स्थानीयको अवरोधले अघि बढ्न सकेको थिएन । हाल पोखरा-१४ को बाच्छेबुडुवामा ल्याण्डफिल छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि यो ल्याण्डफिल साइटले समस्या पर्ने भएपछि सार्न लागिएको हो । विमानस्थल आयोजनाले महानगरलाई चार वर्षअघि नै ल्याण्डफिल सार्न अनुरोध गरिएकोमा चासो नदिँदा अहिले समस्या भएको हो ।
ठाउँ प्रस्ताव मात्र गरिएको हो : वडाध्यक्ष आचार्य
पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष शिव आचार्यले सम्भाव्यता अध्ययनका लागि मात्रै ठाउँ प्रस्ताव गरिएको बताएका छन् । अहिले नै सारिहाल्ने नभइ सम्भाव्यता अध्ययनका लागि कार्यपालिकाले पास गर्नुपर्ने भएकाले अध्ययनका लागि जग्गा छानिएको उनले बताए । ल्याण्डफिलका लागि आफूहरुले २/४ ठाउँ हेरेको भन्दै वडाध्यक्ष आचार्यले अध्ययनपछि जहाँ ठीक हुन्छ त्यही बनाउन सकिने बताए ।
डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन गर्नका लागि जग्गाको खोजी गरिएको उनले बताए । उनले भने, ‘वरपर सार्वजनिक जग्गा छन् । व्यक्तिले सरकारी जग्गा पनि चर्चेर खेती गरेका छन् । एक सय रोपनी किन्यौं भने एक सय रोपनी सार्वजनिक हुन्छ । दुई सय रोपनी भए ल्याण्डफिल सार्न जग्गा पुग्छ ।’