arrow

खप्तड शैलेश्वरी दौडको उपाधि अमलदार शाहीलाई 

logo
प्रकाश बम, 
प्रकाशित २०७९ जेठ २८ शनिबार
286943288_745222386522598_3966349492686467973_n.jpg

डोटी । ‘सुन्दर सुदूरपश्चिम, खप्तड शैलेश्वरी म्याराथन २०७९’  प्रतियोगिताको उपाधि नेपाली सेनाको भवानी गण बक्स अछामका अमलदार सुशीलकुमार शाहीले  जितेका छन् ।

डोटी उद्योग वाणिज्य संघ ,श्री नम्बर ५ बाहिनी अड्डा राजपुर, भैरव प्रसाद गण, सिलगढीको सयुक्त आयोजनामा शनिबार सम्पन्न म्याराथनमा ४० जना प्रतिष्पर्धीलाई पछि पार्दै शाही प्रथम भएका हुन् ।

म्याराथन भनिए पनि दौडको दूरी भने जम्मा ३२ किलोमिटर रहेको थियो । जबकि म्यानथनको दूरी ४२.१९५ किलोमिटर हुने गर्छ । शाहीले ३२ किलोमिटर २ घण्टा १८ मिनेट ३१ सेकेण्डमा पार गरी प्रथम भएका हुन् ।

रणवम गण डडेल्धुराका सिपाही नरेश सिंह बोहरा २ घण्टा ३० मिनेट ५७ सेकेन्ड पार गर्दै द्वितीय भएका छन् । त्यस्तै रणवम गण डडेल्धुराका सिपाही राम सिंह पाल २ घण्टा ३२ मिनेट ४३ सेकेन्ड पार गर्दै तेस्रो भए ।                                  

दौडमा मेल्लेक गाउँपालिका ५ का सिभिल सागर धामी २ घण्टा ३५ मिनेट ४० सेकेन्डमा पार गर्दै चौथो भएका छन् । त्यस्तै  त्रिवेणी नगरपालिका बाजुरा घर भएका सागर सार्कीले २ घण्टा  ४४ मिनेट ५ सेकेन्डमा दूरी पार गर्दै पाँचौ भएका छन् । 

त्यस्तै भवानी बक्स गण अछामका सिपाही मोती बिक छैटौं, गुरु गोरख गुल्म दार्चुला सिपाही दिपेन्द्र महत सातौं, सिंह सार्दुल गुल्म खप्तड लोकबहादुर बुढा र धन सिंह दोवाल आठौं र नवौं स्थान हासिल गर्न सफल रहे । दशौं स्थानमा कैलालीका उमेश मगर आएका छन् ।

खप्तडको त्रिवेणीदेखि सिलगढी शैलेश्वरी मन्दिरसम्म ३२ किमीको दूरी पार गर्ने हिसाबले तय गरिएको दौडमा ४० जना धावकहरु सहभागि भएको भैरवप्रसाद गण सिलगढीका प्रमुख सेनानी जनमत कार्कीले वताए । जसमा २० जना पश्चिम कमाण्डमा कार्यरत नेपाली सेनाका धावकहरु हुन् भने  २० जना सिभिल धावकहरु हुन् ।

ती सिभिल धावकहरु पनि  सुदुरपश्चिमका नौ वटै जिल्लाबाट २–२ जना गरी १८ जना र मध्यवर्ती क्षेत्र विकास समितिबाट २ जना गरी २० जना रहेका छन् । 

प्रथम, दितीय र तृतीय हुनेहरुको लागि पुरस्कारको राशी क्रमशः १ लाख, ७५ हजार र५० हजार राखिएको डोटी उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष खेम भण्डारीले बताए ।

त्यस्तै ५ जनालाई १० हजारका दरले सान्त्वना पुरस्कार दिइने छ भने म्याराथन दौड पूरा गर्ने अन्य ३२ जनालाई प्रोत्साहन स्वरुप ३ हजारका दरले रकम उपलब्ध गराइनेसमेत व्यवस्था गरिएको डोटी उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष  भण्डारीले बताए ।

खप्तडको धार्मिक, साँस्कृतिक र पर्यटकीय महत्व दर्शाउने हेतुले सुदूरपश्चिमको पर्यटन प्रवर्धनलाई ध्यानमा राखी व्यापक प्रचारप्रसार गरी आन्तरिक तथा वाह्य पर्यटनमा थप टेवा पुगोस् भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको भैरव प्रसाद गण सिलगढीका प्रमुख सेनानी कार्कीले बताए ।



नयाँ