- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्नुपर्ने बताएका छन् । उनले एसपीपीप्रति असहमति जनाए। नेता रावलले नेपालले स्टेट पार्टनरसिप प्रोग्राम सम्झौता गरेमा शक्ति राष्ट्रको कठपुतली बन्ने पनि दाबी गरे ।
रिपोर्टर्स क्लब नेपालमा पूर्व सुरक्षाकर्मी परिषद् नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले एसपीपीमा सहभागी भए नेपालको भविष्य र सुरक्षाको खतरा हुने पनि टिप्पणी गरे ।
स्टेट पार्टनरसिप प्रोग्रामको दिशातर्फ गएमा नेपाल अमेरिकी सेनाको अखडा हुने उनको टिप्पणी छ । रावलले भने-‘नेपालको संविधान मिचिन्छ । नेपालको स्वतन्त्र परराष्ट्र नीति ध्वस्त हुन्छ । र, नेपाल ठुला शक्ति राष्ट्रको तीव्र प्रतिस्पर्धाको भुमरीमा धकेलिन्छ । नेपाली जनता ध्वस्त हुन्छन्, नेपालमाथि धेरै ठुलो सङ्कट आइलाग्ने र यसको परिणाम नेपालको अस्मिता र अस्तित्वमाथि नै ठुलो खतरा उत्पन्न सिर्जना हुन्छ ।’ ।
नेता रावलले राष्ट्रको स्वाधीनता र स्वतन्त्रताको लागि, र नेपालको संविधान कार्यान्वयनको लागि राष्ट्रिय सहमति भए मात्रै राष्ट्रहित मान्न सकिने बताए । उनले हल्लाको बीचमा एमसीसी पारित गरेजस्तो गरेर फेरि एसपीपीमा सहभागी भएर नेपालमाथि आघात पुर्याउने छुट कसैलाई पनि नभएको उनको चेतावनी छ ।
‘अमेरिकी राजदूतावासले ३ वर्षअघि नै राज्य साझेदारी कार्यक्रम अर्थात् स्टेट पार्टनरसिप प्रोग्राम नेपालले हस्ताक्षर गरिसकेको थियो, अब नेपालले कुनै सम्झौता नै गर्नपर्दैन, तिमी स्वतः सदस्य भयौ भनेर जबरजस्ती गर्ने भाषामा आएको छ ।’ अमेरिकी राजदूतावासलाई उद्धृत गर्दै उनले भने,‘म यहीँबाट प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई सुझाव दिन चाहन्छु कि उहाँले नेपाली जनतालाई संविधानको धारा ५१ अनुसार २७९ बमोजिम नेपालले अनुसरण गर्दै आएको स्वाधीन परराष्ट्र नीतिको अनुसरण गर्नेछु, अमेरिकाले भने पनि म स्वीकार गर्दिनँ, म मान्दिनँ भनेर स्पष्ट भन्नुपर्छ ।’
परराष्ट्र मन्त्री डा. नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम नेपालको हितमा भएको र उक्त कार्यक्रम रणनीतिक नभएको भनेको स्मरण गराउँदै नेता रावलले आपत्ति जनाए । तर, नेपाली सेनाले दिएको स्पष्टोक्तिबाट भने आफू खुसी भएको उनको भनाई छ ।
उनले स्टेट पार्टनरसिप प्रोग्राम अमेरिकाको हिन्द प्रशान्त रणनीति २०१९ को अङ्ग भएको दाबी गरे । उनले यसबाट अमेरिकाले विभिन्न देशसँग सैनिक सम्बन्ध कायम गरेर सैनिक क्षमता बढाइने कुरा प्रस्ट रूपमा सम्झौतामा उल्लेख गरेको दाबी गरे ।
अमेरिकीलाई आफ्नो देशको माया लागेजस्तै नेपालको माया नेपालीलाई भएको उनले सुनाए । तत्कालीन नेकपाको स्थायी कमिटीको बैठकमा ३ वर्ष अघि नै एसपीपीको सदस्य भएकोबारे चलेको हल्लामा वास्तविकता के हो भनेर पार्टीमा प्रश्न उठाउने आफू पहिलो व्यक्ति भएकोसमेत उनले स्मरण गराए ।
अमेरिकाको राजदूतावासले भनेझै आफ्नो पालामा केही नभएको उनले स्पष्टोक्ति दिए । उनले सरकारले मूल एमसीसी सम्झौता त संसद्मा १ प्रतिशत मात्र पेश गरेको भन्दै गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले होहल्लाको बीचमा जबरजस्ती छलफल गर्न नदिएर सांसदबाट सम्झौता अनुमोदन गरेको आरोप लगाए ।
प्रधानमन्त्री देउवाले नाटक मञ्चन गर्दै १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा अमेरिकासँग कुरा गरेको भनी झुक्काएको पनि आरोप लगाए । व्याख्यात्मक घोषणालाई अमेरिकाले मानेको पत्र संसद्मा राख्न आफुले माग गरेको तर अझैसम्म प्रधानमन्त्रीले उक्र पत्र दिन नसकेको उनको गुनासो छ ।
देशमाथिको बाहय्र हस्तक्षेप सहेर बस्ने व्यक्ति सच्चा नेपाली नहुने उनको भनाई छ । पूर्व सुरक्षाकर्मी परिषद् नेपालका सदस्यहरूले देशका लागि धेरै योगदान दिएको स्मरण गराउँदै एक पटकका सेना, एक पटकका सुरक्षाकर्मीहरू सधैँको सेना हुने पनि सुनाए ।
इतिहासविद् प्रा.डा.पे्रमसिंह बस्न्यातले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे नेपाली जनतालाई भ्रममा नराखी वास्तविकता बाहिर ल्याउनु सरकारको प्रमुख दायित्व रहेको बताएका छन् ।
बस्न्यातले एसपीपीमा नेपाल कुनै पनि हालतमा सहभागी हुन नहुनेमा जोड दिए । उक्त कार्यक्रममा नेपाल सहभागी भए देशको अस्तित्वमाथि नै सङ्कट आईपर्ने उनको टिप्पणी छ ।
एमसीसीको भन्दा अहिले परिस्थिति फरक रहेको भन्दै उनले राष्ट्रघाती एसपीपी संझौताको बिरुद्धमा एकजुट हुन सर्वसाधारण, पूर्व सुरक्षाकर्मीहरू, सबै एकजुट भएर नेपाली भूमिबाट बुट बजार्न दिन नहुने तर्क गरे । नेपाली धर्तीको माटो बचाउनुपर्ने अवस्था आएको उनले सुनाए ।
एमसीसी राष्ट्रघात हो भन्दै आफुहरुले रोक्न खोज्दाखोज्दै पनि पारित गरिएको भन्दै उनले आक्रोश पोखे । अहिले नेपाली जनताले ठुला राजनीतिक दलका भ्रष्ट नेताहरुलाई नेता मानेकै कारण नेपालीहरुले दुःख पाएको सुनाउँदै उनले भने,‘स्टेट पार्टनरसीप पोग्रामलाई परराष्ट्रमन्त्रीले राष्ट्र हितमा छ भने पनि नेपाली सेनाले नमान्ने भनेर दिएको सुचनाले जनता झन् शशंकित भएका छन् ।’
उनले देशका लागि आवश्यक परे भुतपुर्व सैनिकहरु जे गर्न पनि तयार रहेको चेतावनी दिए । अध्यक्ष कोमल रावलले परिषदले जारी गरेको प्रेष विज्ञप्ती वाचन गरेर सुनाएका थिए ।