- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाँके । नेपालगञ्ज-१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी राखिएपछ उनीहरुको सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ । विसं २०२० मा स्थापना गरिएको उक्त कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ ।
कारागार विभागले ३०० जना क्षमता निर्धारण गरेकामा हाल ७७६ कैदीबन्दी रहेका छन् । कैदीबन्दीलाई कोचाकोच गरी राखिएको छ । कारागारमा दुई आश्रित नाबालकसमेत रहेको जेलर रामकुमार सुन्दरले बताए ।
बस्तीको मध्यभागमा कारागार रहेकाले उक्त क्षेत्रका नागरिकमा सुरक्षा चुनौती बढेको छ । “कैदीबन्दीलाई विभिन्न रोगको जोखिम छ”, उनले भने । उनीहरुलाई उपचारका लागि भेरी अस्पताल लैजाने गरिएको छ । कारागारको भौतिक संरचना पनि जीर्ण हुँदै गएको छ । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल पुराना भइसकेका छन् ।
कारागार वरिपरिको वातावरण एकदमै दुर्गन्धित छ । कारागारबाट निस्केको फोहर त्यही वरपर फाल्ने गरिएको छ । ढल निकासको व्यवस्था छैन । फोहर बढी भएकाले कैदी पनि अधिक संख्यामा बिरामी हुने गरेको कारागार प्रशासनको भनाइ छ ।
फोहरकै कारण कैदीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो भएको छ । बिरामीमा रोग सङ्क्रमणको त्रास बढेको कारागार प्रशासनले जनाएको छ ।