arrow

प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ११ शनिबार
badmintion.jpg

पोखरा । कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा गण्डकी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा प्रतियोगिताको आयोजना गरिएको हो ।

चार विधामा संचालन गरिएको प्रतियोगिताको पहिलो दिन महिलातर्फको क्वाटरफाइनल खेल सम्पन्न भएका छन् । महिलातर्फको एकल विधामा कास्कीकी अनु राना, दिलाशा राना, आयुष्मा नेपाल र आकृति केसी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

यस्तै, डबल्सतर्फ कास्कीकी दिलाशा राना र यमकुमारी गुरुङको जोडी, कास्कीकै मेनुका गुरुङ र आयुष्मा नेपालको जोडी, आकृति केसी र अनुरानाको जोडी तथा कास्कीकी माया पुन र तनहुँकी रुवी श्रेष्ठको जोडी सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य राजेश गुरुङले गरे । उनले १३ औं सागमा ब्याडमिन्टन हल बनाउन सफल भएको र आज त्यहि प्रतियोगितामा प्रतियोगिता हुँदा खेलाडीको खेल कौशलमासमेत वृद्धि हुने विश्वास व्यक्त गरे ।

उनले गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले तीन लाख बजेटको पंखा राख्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै यसले ब्याडमिन्टन खेलको विकासमा थप इट्टा थप्ने काम गरेको स्पष्ट पारे । उनले खेलाडीले खेल खेल्न नपाउने अवस्थामा यसरी खेल हुँदा खेलाडीको खेल प्रदर्शनीमासमेत ठूलो प्रभाव पर्ने बताए । 

खेल संयोजक अमृत पोख्रेलले प्रतियोगिताले खेलाडीको खेलस्तर वृद्धि गर्न मद्धत पुग्नेमा आशावादी रहेको बताए ।प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आयोजना गरिएको जानकारी उनले दिए । प्रतियोगिता संचाललन सचिव इन्द्र तिमिल्सिनाले गरेका थिए ।

प्रतियोगितामा पुरुष एकल, पुरुष डबल, महिला एकल र डबलतर्फ प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिताको पुरुष एकलतर्फ प्रथम हुनेले २०, दोस्रो र तेस्रोले समान १०/१० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरुष डबलतर्फ प्रथम हुनेले ४० हजार रुपैयाँ, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँ सहित उनीहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, महिला एकलतर्फ प्रथम हुनेले १५ हजार रुपैयाँ, दोसो र तेस्रोले समान १०/१० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला डबल्सको प्रथम हुनेले ३० हजार रुपैयाँ, दोस्रोले २० हजार रुपैयाँ तथा तेस्रो हुनेले १० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता गर्न करिब चार लाख ४५ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।



नयाँ