- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । अग्रज खेलाडी गणेशबहादुर भट्टराइलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा आयोजित छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ अन्तर्गत भट्टराईलाई अवार्ड प्रदान गर्न लागिएको हो । भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा सिल्भर मेडलिस्ट हुन् । उनलाई पराजित गरेका पाकिस्तानी बक्सर पछिल्लो वर्ष एसियन गेम्सकै गोल्ड मेडलिस्ट हुन् ।
भट्टराई १९८९, १९९० र १९९१ मा लगातारा बक्सिङमा राष्ट्रिय च्याम्पियन भए । सन् १९८७ मा पहिलो पटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका भट्टराईले पहिलो सहभागितामै जुनियर च्याम्पियन बने ।
१९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनशीपमा गोल्ड मेडल जिते । सोहीवर्ष उनी सिनियरतर्फ चौथो भए । त्यसको एक वर्षपछि राष्ट्रिय च्याम्पियन बने । सन् १९९० मा बैंकक र १९९१ मा पाकिस्तानमा छ-छ महिना प्रशिक्षणका लागि भट्टराई पुगेका थिए ।
राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरुमा सहभागिता जनाउँदै गर्दा उनको दाहिने हात भाँच्चियो । त्यसपछि खेलाडीको रुपमा उनको करिअरले विश्राम लिए पनि व्यवस्थापकीय पक्ष सम्हाल्न थाले । १९९८ मा नेपालमै भएको सागमा दुई स्वर्ण, पाँच रजत र दुई कास्य पदक देशले जित्दा उनी टिम मेनेजर थिए ।
फुटबल खेलसँगसमेत संलग्न भट्टराई एन्फाको केन्द्रीय सदस्य हुँदै उपमहासचिव बने । भट्टराईले भूतपूर्व खेलाडी मञ्चका उपाध्यक्ष, नेपाल बक्सिङ संघका उपाध्यक्ष, जोय फाउण्डेशनका संस्थापक सदस्य, रेबान पोखराको अध्यक्ष, पोखरा उपमहानगरपालिकाको आठ महिनासम्म उपमेयरको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
लाइफटाइम अचिभमेन्ट अवार्डबाट यसअघि अग्रज खेलाडीहरु प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, कृष्णबहादुर थापा, खड्गबहादुर रानाभाट, चित्र बहादुर गुरुङ र आनन्द रञ्जित सम्मानित भएका थिए ।