arrow

रेफ्री तथा निर्णायक सेमिनार शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
talim.jpg

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा गण्डकी प्रदेश एथलेटिक्स खेल लक्षित निर्णायकहरुलाई रेफ्री तथा निर्णायक ‘सेमिनार’ शुरु भएको छ । 

प्रदेशमा आयोजना हुने एथलेटिक्सका खेलकुद प्रतियोगिताहरुलाई विवादरहित, ठोस र प्रभावकारी निर्णय दिन सक्ने निर्णायकहरु उत्पादन दिने उद्धेश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको हो । 

तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणको अग्रज खेलाडी तथा राष्ट्रिय खेलकुदका पूर्व सदस्य खड्गबहादुर रानाभाटले शुभारम्भ गरेका छन् । सो अवसरमा उनले निर्णायकहरुमा सर्मपण, अनुशासन र अनुकरणिय हुनुपर्ने कुरामा जोड् दिए । आफूले सिकेको शिप र ज्ञानलाई सबैलाई बाड्न सके समाजले समेत खेलकुदमा हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सक्ने उनको भनाई थियो । दत्तचित्त, मर्यादित र अनुशासनमा रही एथलेटिक्स खेलको सक्षम निर्णायक भएर अघि वढ्न समेत एथ्लेटिक्सका पूर्व अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका रानभाटले आग्रह गरे । 

कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले प्रदेशमा एथलेटिक्स खेलका गतिविधिहरु बढे संगै सक्षम निर्णायकहरुको आवश्यकता समेत रहेकोले यो कार्यक्रम आयोजना गरिएको बताए । एथलेटिक्स सबै खेलहरुको समेत ‘फादर अफ दि गेम’ मानिने भएकोले पहिलो चरणमा एथलेटिक्स लक्षित कार्यक्रम अघि बढाइएको बताउँदै सदस्य सचिव गुरुङले भने, “खेलकुदका प्रशिक्षक हुन वा निर्णायकहरु सबै वैज्ञानिक रुपले अध्ययन गरेको हुनपर्ने मात्र नभई वैज्ञानिक आधारमा नै प्रशिक्षण र निर्णय क्षमतामा दख्खल हुनुपर्छ । त्यसैले पनि हामीले उनीहरुलाई ‘एजुकेट’ गर्नुपर्छ भन्ने विषयमा ध्यान केन्द्रित गरेका छौं ।”

सो अवसरमा नेपाल ओलम्पिक कमिटिका महासचिव तथा नेपाल ट्राइयाथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले गण्डकी खेलकुद परिषदले आफ्नो स्थापनको छोटो अवधिमासमेत उत्कृष्ट कार्य गरेको बताउँदै प्रशंसा गरे । उनले कुनै पनि खेलकुदका कार्यक्रमहरु विवादमा पर्नुको मुख्य कारण निर्णायकको भूमिका समेत रहेकोले यस्ता कार्यक्रमहरुले उनीहरुको दक्षता बढाउने संगै यहाँ आयोजना हुने प्रतियोगिताहरुका लागि राजधानीको मुख ताक्ने कुराको समेत अन्त्य हुने उल्लेख गरे । महासचिव श्रेष्ठले खेलकुदका प्रशिक्षक तथा निर्णायकहरुलाई दक्षता बढाउन आगामी दिनमा नेपाल ओलम्पिकले प्रदेश खेलकुद संग मिलेर अघि बढ्ने प्रतिवद्धता जनाए । 

कार्यक्रममा एथलेटिक्सका विज्ञ शुसिल नरसिंह राणाले प्रशिक्षण दिने छन् । प्रशिक्षक राणाले उद्घाटन कार्यक्रममा खेलाडी तथा दर्शकहरुलाई उत्साह जगाउन तथा एक सक्षम खेलाडीको उत्पादनमा समेत निर्णायकहरुको भूमिका उत्तिकै प्रभावकारी हुने बताए । 

प्रदेश खेलकुद परिषदका सदस्य तथा कार्यक्रमका संयोजक खगेन्द्र क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले समेत आफ्ना भनाई राखेका थिए । सेमिनारमा २५ जनाको सहभागिता रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ