arrow

उपत्यकामै बालबालिकाले कोरोनाको खोप लगाउन पाएनन्, , मन्त्रालय भन्छ हामीसँग खाेप पर्याप्त छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
health-ministry.png

काठमाडौं । सरकारले असार ५ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा २७ जिल्लाका विद्यालयहरुमा बालबालिकालाई काेराेना भाइरस विरुद्धकाे खोप लगाउने भने पनि कयौं विद्यार्थीहरुले खोप लगाउन पाएका छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ वर्षपूरा भई १२ वर्षमुनिका बालबालिकाहरुका लागि फाइजर खोप अभियान अघि सारेको थियो। देशभरका विभिन्न विद्यालयहरुमा बालबालिकाहरुलाई खोप लगाउन शुरु भए पनि कतिपय विद्यालयहरुमा खोप अभाव भएको छ ।

काठमाडौं उपत्यकाकै विभिन्न विद्यालयहरुमा बालबालिकाहरुले खोप लगाउन पाएका छैनन् । विभिन्न विद्यालयका संचालकहरुले स्वास्थ्य कार्यालयबाट खोप अभाव भएको भन्दै आउन नसक्ने जानकारी गराउँदै कार्यक्रम रद्द गराएको बताएका छन् ।

विद्यार्थीहरु भने थप चिन्तित बनेका छन् । उनीहरुले अभिभावकसँग आफूहरुले किन खोप लगाउन नपाएको ? भन्दै प्रश्न गरिरहेका छन् । तर यसको जवाफ उनीहरुले विद्यार्थीलाई दिन सकेका छैनन् । 

यस विषयमा स्वास्थ्य मन्त्रालयले खोप अभाव नभएको तर वितरणमा तलमाथि भएको टिप्पणी गरेको छ । खोप वितरणमा तलमाथि हुँदा कुनै ठाउँमा खोप पुग्न ढिला भएको हुनसक्ने स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा संगिता कौशल मिश्राको भनाइ छ ।

खोप अभाव भएको हो भन्ने प्रश्नको जवाफमा हाम्राकुरासँग बोल्दै मन्त्रालयकी प्रवक्ता डा मिश्राले भनिन्, 'हैन हैन सक्केको हैन, (खोप कार्यक्रम) २७ वटा जिल्लामा छ । हाम्रो खोप एकै चोटी आउँदैन । अस्ति २२ लाख ६ हजार आएको छ, अनि अर्काे चाहिँ ३ जुलाईमा आउँदैछ । एकै चोटी हाम्रो भण्डारण क्षमता पनि हुँदैन ।'

उनले अघि भनेकी छिन्, 'अनि कतिपय खोप अब जिल्लामा हामीले अन्दाजको आधारमा पठाउनुपर्ने हुन्छ । उहाँहरुले कति डेटा दिनुहुन्छ । अनि उहाँहरुले पठाएको डेटा भन्दा बढी बालबालिकाहरु खोप लगाउन आए । कुनै ठाउँमा बढी आउनुभयो, कुनै ठाउँमा कम भको हुनुभयो । त्यहीँ भएर रिडिस्ट्रब्युसन गर्नुपर्छ । थप खोपको निश्चितता भइसकेको छ । एक दुई दिन तलमाथि होला खासै समस्या हुँदैन ।'

यस्तै उनले मन्त्रालयले खोप अभियान नरोकेकोसमेत बताएकी छिन् । स्थानीय तहले आफ्नो पालिकामा कति बालबालिका छन् भनेर डेटा पठाएको हुँदा सोही आधारमा स्थानीय तहले नै माग आपूर्ति व्यवस्थापन गर्ने उनको भनाइ छ ।

यस्तै उनले पहिलो चरणमा खोप लगाउन आउने ठानिएका बालबालिकाको संख्या जति खोप मन्त्रालयसँग मौज्दात रहेको थियो भन्नेसमेत बताएकी छिन् ।

यस्तै खोपशाखाका खोप शाखाका प्रमुख सागर दाहालले कुनै ठाउँमा खोप वितरण तलमाथि भएको बताउँदै केही दिनमा फेरि खोप वितरण हुने बताएका छन् ।

जुलाई ३ मा २२ लाख बढी खोप आइरहेको बताउँदै उनले उक्त खोप भित्रिएपछि अपुग भएको ठाउँमा वितरण गर्ने बताएका छन् । यस्तै बढी खोप गएको ठाउँबाट फिर्ता मगाएर अपुग भएको ठाउँमा वितरण गर्नसमेत भनिएको उनले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ