सरकारले एसपीपीमा संलग्न नहुने भनेर लेखेको पत्र बाहिर ल्याउनुपर्छ : रावल
परराष्ट्र नीति र कूटनीतिमा गम्भीर विचलन
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
558
Shares
काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले अमेरिकाको स्टेट पार्टनरशिप कार्यक्रम (एसपीपी) नेपाल संलग्न नहुने भनेर लेखिएको पत्र सार्वजनिक गर्न माग गरेका छन् । बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै डा. रावलले भने ,‘सरकारले एसपीपीमा संलग्न नहुने भनेर लेखेको पत्र बाहिर ल्याउनुपर्छ । नेपाल सदस्य हुँदैन भनेर निशंकोच बाहिर ल्याउनुपर्छ । सरकार पारदर्शी होस । आशङ्का पुष्टि हुनेगरि काम नगरोस् ।’
रावलले नेपालको कूटनीति र परराष्ट्र नीतिमा गम्भीर विचलन देखिएको टिप्पणी गरेका छन् । उनले भने,‘हाम्रो देश राष्ट्रिय सुरक्षा, कूटनीतिक सञ्चालनको दृष्टिकोण, अर्थतन्त्र अघि बढाउने दृष्टिकोण, राष्ट्रको मौलिक संस्कृतिको कसरी रक्षा गर्ने भन्ने दृष्टिकोणबाट हेर्दा, इतिहासमा अत्यन्तै कठिन चरणबाट गुज्रिरहेको देखिन्छ । सबैभन्दा पहिले हाम्रो देशको परराष्ट्र नीति र कूटनीतिमा गम्भीर विचलन देखा परेको छ । यसरी विचलन देखा पर्नु आपत्ति जनक र दुःख लाग्दो कुरा हो ।’
कूटनीति निकायले पत्राचार गर्नुपर्ने ठाउँमा, पत्राचार गर्नु नै नपर्ने निकायले गरेकोमा आपत्ति जनाउँदै रावलले भने ठूला शक्तिशाली राष्ट्रहरूसँग झुकेर संविधानको ठाडै उलंग्न गर्ने काम भएको छ ।
रावलले भने,' परराष्ट्र नीति र कूटनीतिमा गम्भीर विचलन देखा परेको छ, यो आपत्ति जनक कुरा हो, धेरै दुःख लाग्दो कुरा भएको भनेका छन् ।' डा.रावलले विभिन्न मुलुकसँग गर्ने सन्धि सम्झौँताहरुको हकमा संविधानको प्रावधानलाई सरकारले छल्ने काम गरेको आरोप लगाएका छन् ।