arrow

न्यूयोर्क संसद्को तल्लो सदनमा नेपाली मूलकी श्रेष्ठ विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
Sarahana-Shrestha.jpg

न्यूयोर्क । न्यूयोर्क राज्यको संसद्को तल्लो सदनका १०३ नम्बर एसेम्ब्ली डिस्ट्रिक्टको डेमोक्रेटिक प्राइमरी चुनावमा नेपाली मूलकी उम्मेदवार सराहना श्रेष्ठले विजय हासिल गरेकी छिन् । २३ वर्षदेखि लगातार र सन् १९९३ मा एक कार्यकाल गरी १३  कार्यकाल न्यूयोर्क संसद्को तल्लो सदनमा प्रतिनिधित्व गर्दै आएका ६६ वर्षका डेमोक्रेटिक उम्मेदवार केभिन काहिललाई श्रेष्ठले पराजित गरेकी हुन् ।

४० बर्सभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका काहिललाई ३ वर्ष अगाडि अमेरिकी नागरिकता लिएकी ४१ बर्षकी सराहना श्रेष्ठले पराजित गरेकी हुन् । सन् २००१ मा अध्ययनका लागि न्यूयोर्क आएकी श्रेष्ठले सन् २०१९ मा मात्र अमेरिकन नागरिकता प्राप्त गरेकी थिइन् ।

श्रेष्ठले ७ हजार ७ सय २ भोट ल्याएकी छिन् भने काहिलले ७ हजार १ सय ७३ भोट ल्याएका थिए । अनुपस्थित र सहमति दिइएका मतपत्रहरू गणना नगरिँदै श्रेष्ठको जीत घोषणा गरिएको हो । अब नोभेम्बरमा हुने चुनावमा सन् १९९९ पछि पहिलो पटक काहिलको नाम मतपत्रबाट हट्ने भएको छ भने उक्त स्थानमा श्रेष्ठको नाम हुनेछ ।

डेमोक्र्याट्सहरुको बाहुल्यता रहेको उक्त डिस्ट्रिक्टमा नोभेम्बरमा श्रेष्ठको जीत लगभग सुनिश्चित रहेको छ । श्रेष्ठ न्यूयोर्क राज्यको संसद्मा उम्मेदवारी दिने र प्राइमरी चुनाव जित्ने नेपाली मूलकी पहिलो अमेरिकन हुन् । उनी नोभेम्बरको निर्वाचन पछि अमेरिकाको राजनीतिमा सबैभन्दा उच्च तहमा पुग्ने  नेपाली मूलकी पहिलो महिला हुनेछिन् ।

जलवायु सङ्कट र आर्थिक तथा सामाजिक न्यायका विषयमा आवाज उठाउँदै आएकी उनले न्यूयोर्क अल्स्टर र डचेज काउन्टीको प्रतिनिधित्व गर्नेछिन् ।

श्रेष्ठले गत बर्ष नै  चुनावी अभियान सुरु गरेकी थिइन् । श्रेष्ठले न्यूयोर्क हेल्थ एक्ट, गुड कज इभिक्सन र ग्रिन न्यु डिलजस्ता वामपन्थी एजेन्डाहरूको समर्थन गरेकी छिन् । डेमोक्रेटिक सोसलिष्टको हडसन भ्याली च्याप्टर र फर द मेनी नामको समूहले श्रेष्ठको उम्मेदवारीको समर्थन गरेका थिए । 

उनको उम्मेदवारीको चर्चित अमेरिकन सांसद अलेक्जान्ड्रिया ओकासिओ कोर्टेजले पनि समर्थन गरेकी थिइन् । त्यस्तै अमेरिकन चर्चित कलाकार र अधिकारकर्मी सिन्थिया निस्कनले पनि उनको उम्मेदवारीको समर्थन गरेकी थिइन् ।

श्रेष्ठ अमेरिकामा डेमोक्रेटिक सोसलिष्टकी सदस्य समेत हुन् भने उनी डेमोक्रेटिक सोसलिष्टको मिड हड्सन भ्याली च्याप्टरका लागि अल्स्टर काउन्टी सह अध्यक्ष समेत हुन् । त्यस्तै उनी स्वच्छ, नवीकरणीय, किफायती र पहुँचयोग्य विद्युत् आपूर्तिको प्रवर्द्धनका क्षेत्रमा काम गर्ने गठबन्धन पब्लिक पावर न्यूयोर्ककी नेता समेत हुन् ।

न्यूयोर्क राज्यको तल्लो सदनमा हरेक सांसदले झण्डै १ लाख ३० हजार बासिन्दाको प्रतिनिधित्व गर्दै आएका छन् । न्यूयोर्क राज्य संसद्को तल्लो सदनमा प्रतिनिधित्व गर्ने सांसदको कार्यकाल २ वर्षको हुने गर्छ ।

पछिल्लो समयमा अमेरिकन मूलधारको राजनीतिमा नेपाली अमेरिकनहरूको सहभागिता बढ्दै गएको छ । अहिलेसम्म जन निर्वाचित सबैभन्दा उच्च पदमा पुग्न सफल नेपाली अमेरिकन मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ