arrow

मध्यपूर्वमा सङ्कट ‘बढेको’ हेर्न नचाहेको अमेरिकी भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३ सोमबार
middle-east-map.jpg

काठमाडौँ । इजरेलले इरानको ठूलो मात्रामा मिसाइल र ड्रोन आक्रमणलाई विफल बनाएपछि अमेरिकाले मध्यपूर्वमा सङ्कट बढेको हेर्न नचाहेको ह्वाइट हाउसका एक शीर्ष अधिकारीले आइतबार बताएका छन् । 

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले एनबिसीको ‘मिट द प्रेस’ मा भने, “हामी यो सङ्कट बढ्दै गएको हेर्न चाहन्नौँ, हामीले इरानसँग व्यापक युद्धको अपेक्षा गरेका छैनौँ ।”

इरानको अभूतपूर्व आक्रमणपछि व्यापक द्वन्द्वको आशङ्काहरूबीच इजरेल आइतबार उच्च सतर्क अवस्थामा थियो । अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा तेहरानको वाणिज्य दूतावासमा भएको इजरेली हमलाको जवाफमा इरानले शनिबार राति इजरेली क्षेत्रमा पहिलो पटक प्रत्यक्ष आक्रमण गरेको थियो । 

इरानको जवाफी कारवाहीले क्षेत्रीय दुश्मनहरूबीच लामो समयदेखि चलिरहेको गुप्त युद्धको ठूलो वृद्धिलाई देखाएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरेलका लागि वासिङ्टनको ‘बलियो’ समर्थनको पुष्टि गरे पनि आफ्नो कट्टर सहयोगी इजरेललाई सैन्य प्रतिक्रियाबाट टाढा राख्न मार्गदर्शन गरिरहेको देखिएको छ । 

समाचार आउटलेट एक्सियोसका अनुसार राष्ट्रपति बाइडेनले इजरेली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग इरानविरुद्ध इजरेलको जवाफी आक्रमणको विरोध गर्ने बताएका थिए भने नेतान्याहुले ‘जित हासिल गर्नुपर्ने’ बताएका थिए । 

अमेरिकी सैनिकहरूका लागि कुनै पनि इरानी खतराप्रति अमेरिका ‘सतर्क’ रहेको किर्बीले अन्तरवार्तामा बताए । “हामी के गर्नेछौँ र आफ्ना कर्मचारीहरूका लागि कुनै पनि सम्भावित खतरालाई कति गम्भीरतापूर्वक लिन्छौँ भनेर हामीले इरानसहित सबै पक्षलाई स्पष्ट गरेका छौँ”, उनले भने । 

इरानले शनिबार राति इजरेलतर्फ तीन सयभन्दा धेरै ड्रोन र मिसाइल प्रहार गर्दा १२ जना घाइते भएको इजरेली सेनाले बताएको छ । यद्यपि सेनाले अमेरिका, जोर्डन, बेलायत र अन्य सहयोगीहरूको मद्दतमा करिब सबै ड्रोन र मिसाइल इजरेली क्षेत्रमा पुग्नुभन्दा अघि नै रोकेको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ