- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । छैटौं पोखरा स्पोर्टस् अवार्ड-२०७८ मा प्रदीप खड्का र अरुणा शाही सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् ।
पाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषमा टेनिसका प्रदीप खड्का र महिलामा भलिवलकी अरुणा शाही घोषित भएका हुन् । अवार्ड विजेता दुवै जनाले एक/एक थान ईलेक्ट्रिक स्कूटर प्राप्त गरे ।
यस्तै, लाइफटाइम अचिभमेन्ट अवार्डबाट गणेश बहादुर भट्टराईलाई सम्मान गरिएको छ । पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा रजत पदक विजेता समेत रहेका भट्टराईको नेपालको खेल क्षेत्रको विकासमा ठूलो योगदान छ ।
यसैगरी वर्ष उत्कृष्ट उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा टेनिसका निरज थापा, वर्ष उत्कृष्ट संघबाट तेक्वान्दो संघ गण्डकी र वर्ष उत्कृष्ट खेल पत्रकारबाट कान्तिपुरकर्मी दीपक परियार पुरस्कृत भए । विजेता सबैले ट्रफीसंगै जनही ३५ हजार रुपैयाँ नगद र सम्मान पत्र प्रदान गरे ।
विजेताहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मञ्चका अध्यक्ष बराललगायतले अवार्ड प्रदान गरेका थिए ।
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले सरकारले खेल क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चको गतिविधि र धन्यवाद ज्ञापन उपाध्यक्ष सुरज श्रेष्ठले गरेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका महासचिव राजाराम पौडेल र सदस्य लक्ष्मी जिसी ‘पल्पसा’ ले गरेका थिए ।
कार्यक्रममा गायक विनोद वानिया, हास्य कलाकार युवराज भण्डारी, गायक सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रज्ञा प्रतिष्ठानको कल्चरल नृत्य र खेल डेमोस्ट्रेसन लगायतले कार्यक्रमको माहोल तताएको थियो ।