हिन्दूहरूको सुरक्षाका लागि संयुक्त राष्ट्रसँग अन्तर्राष्ट्रिय हस्तक्षेपको माग
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
444
Shares
काठमाडौं। राष्ट्रिय एकता अभियानले पाकिस्तान र बङ्गलादेशका अल्पसङ्ख्यक हिन्दूहरूको सुरक्षाको लागि अन्तर्राष्ट्रिय हस्तक्षेपको माग गरेको छ। अभियानका अध्यक्ष विनय यादवले संयुक्त राष्ट्र सङ्घलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् । सो ज्ञापन पत्र नेपालस्थित राष्ट्र सङ्घ कार्यालयका सूचना अधिकारी राजेन्द्रमान बनेपालीले बुझेका थिए।
बङ्गलादेशको नाराइल सदर उप जिल्ला स्थित मिर्जापुर यूनाइटेड कलेजका प्रिन्सिपललाई हिन्दु भएकै कारण जुत्ताको माला लगाइएको घटनापश्चचात सो माग गरिएको अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले बताएका छन्।
‘कलेजका एक छात्रले भाजपा नेत्री नूपुर शर्माको फोटो फेसबुकमा पोस्ट गरेपछि केही मुस्लिम छात्रहरूले पोस्ट डिलीट गर्न डर धम्की दिएका थिए’ ज्ञापन पत्रमा भनिएको छ–‘यसमा प्रिन्सिपललाई छात्रको पक्ष लिएको भन्दै १७ जुन २०२२ मा जुत्ताको माला लगाए।’ जिहादी छात्रहरूले दुई शिक्षकहरूको मोटरसाइकलमा आगो पनि लगाएको जनाइएको छ।
ती छात्र र स्थानीय जिहादीले धर्मको अपमान गरेको आरोप लगाउँदै प्रधानाध्यापक स्वपन कुमार विश्वासलाई जुत्ताको माला लगाई अपमान गरेको ज्ञापन पत्रमा उल्लेख छ।
बङ्गलादेश र पाकिस्तानमा हिन्दुत्व विरोधी जिहादी घटनाहरू पटक–पटक हुनुले त्यहाँको सरकार हिन्दुहरूको सुरक्षाको विषयमा अति गैर जिम्मेवार देखिएको आरोप लगाइएको छ। ती देशका सरकार जिहादीहरूको गतिविधिमा रोक लगाउन असक्षम देखिएकाले अन्तर्राष्ट्रिय हस्तक्षेपको आवश्यकता रहेको अभियानले बताएका छ।