- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
म्याग्दी । मनकुमारी परियार, नाम जस्तै मनकारी । राखुमा जन्मिएकी मनकुमारीले मन र जीवन भकिम्लीका टीका उर्फ पूर्णलाई दिइन् । उनले सोचिन्, ‘अब मेरो जीवन पनि पूर्ण हुने भयो । तर जीवनमा सबै भने जस्तो कहाँ हुन्छ र ?’
जब पूर्णसँग मनकुमारी रङ्गीन सपना पूरा गर्न घर पुगिन् । त्यसपछि छाँगाबाट खसे झैँ भएन् उनी । कारण, पूर्णको घरमा त पहिल्यै पत्नी र छोराछोरी थिए । दोधारमा परिन् मनकुमारी । जाउ कहाँ जाउ ? गुहार माँगू कसलाई ? भएन भनेर कोखका सन्तान जन्मने प्रक्रियामा थियो । मनकुमारीले अठोट गरिन्, ‘जस्तै दुःख सहेर भए पनि अब म यसैका निम्ति बाँच्नुपर्छ ।’
त्यसपछि शुरु भयो उनकोे सङ्घर्षको कथा । के गरिनन् उनले ? संजोगले बेनी नगरपालिकामा बजारमा ट्र्याक्टर चढेर फोहर सङ्कलन गर्ने काम पाइन् मनकुमारीले । घिन मानिन्, अल्छी गनिन् काममा । सबैलाई मीठो बोली र कामले लोभ्याइन् । एकातिर काखमा बच्चा अर्कोतिर कामको चटारो हरेश नखाइकन निरन्तर काममा लागिन् छोरीको जन्म भयो । नाम राखिन्, ‘शुष्मा परियार ।’
हो, यिनै शुष्मा परियारले २०७९ असार २० र २१ गते सम्पन्न राष्ट्रपति कपमा तीन स्वर्ण र एक काश्यपदक जितेर सबैलाई चकित तुल्याइन् । उमेरले १३ वर्ष लागेकी बेनीको प्रकाश माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने शुष्माले दौडतर्फ १०० मिटर, २०० मिटर र चार सय मिटर रिलेमा तीन स्वर्ण र एक हजार ६०० मिटर रिलेमा काश्यपदक जित्न सफल भएकी हुन् । अब शुष्माले पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा म्याग्दीको प्रतिनिधित्व गर्दै छिन् ।
शुष्मा त्यसै सफल भएकी होइन । उनको सफलतामा आमा मन कुमारीको ठूलो हात छ । एकातिर बुबाको साथको अभाव अर्कोतिर आफ्नो आर्थिक अवस्था । “दशौँ वर्ष गरेको नगर पालिकाको जागिर पनि गयो । अहिले पाण्डे मेडिकल र सञ्जिवनी हस्पिटल साथमा केही घरमा काम गरर दैनिक गुजारा चलाइरहेकी छु । महिनाभरिको कमाइले के घर भाडा तिर्ने ? के हातमुख जोर्ने ?”
गहभरि आँसु झार्दै मनकुमारीले भनिन्, “कति दिन त पैसा नभएर रित्तै हात स्कुल पठाएँ । कैयौँपटक कापी, कलम किन्ने पैसा भएन । यसले कहिल्यै गुनासो गरिन् । अचानक अमिसाले फोन गरेर सुष्माले जितिन्भन्दा भुइँमा खुट्टा रहेन । दौडेर मञ्चमा पुगे । छोरी र साथीहरुलाई बधाई दिएँ आज यसको सफलताले सबै दुःख बिर्सिएको छु । सर मिसलाई नै अभिभावक सम्झेर प्रकाश मावि पढाएको छु आशा छ स्कुलले यसलाई पक्कै मान्छे बनाउने छ ।”
“गत वर्ष शारीरिक शिक्षाको अभ्यास गराउँदा आँखामा परेका थिइन् शुष्मा । राष्ट्रपति कप हुने भन्दाबित्तिकै उनको तस्बिर झलझली आँखा अगाडि नाँच्यो । नभन्दै साथी माझ अब्बल सावित भएर छनोट भइहालिन्”, प्रकाश माध्यमिक विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख विनय श्रेष्ठले भने । “शुष्माको प्रदर्शनले हामी खुशी छाँै, उनले विद्यालयको नाम राखेकी छन् । विद्यालयले गर्नुपर्ने सहयोगमा हामी कमी हुन दिने छैनौँ”, विद्यालयका निमित्त प्रधानाध्यापक लेखबहादुर हमालले बताए ।
शुष्माले अहिलेको प्रदर्शनले खुशी भएको बताए । “सरमिस, विद्यालय र साथीले साथ दिनुभयो, धन्यवाद छ । विद्यालयको नाम राखेँ अब जिल्लाको नाम राख्न सकूँ । यही सपना बोकेर पोखरा जानेछु । आमाको सपना पूरा गर्नेछु । मेरा पदक आमाबुबालाई समर्पण छ”, खुशी व्यक्त गर्दै शुष्माले भनिन् ।
अहिले सिङ्गो समाज शुष्माको अभिभावक बनेको छ । सुष्मालाई मान्छे बनाउन र बुवाको कमी महसूस हुन नदिन वास्तवमै सहयोगी हातको खाँचो भएको विद्यालयका शिक्षक विनय श्रेष्ठले बताए ।
म्याग्दीबाट ९३ खेलाडी छनोट
म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न सातौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिताबाट गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कपका लागि म्याग्दीबाट विभिन्न विधामा गरी ९३ खेलाडी छनोट भएका छन् ।
मङ्गलबार सम्पन्न भएको प्रतियोगितामा पुरुष तथा महिला भलिबल, कबड्डी मार्सलआर्ट विधाका खेलाडी छनोट गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए । “जिल्लाबाट विभिन्न विधामा गरी ९३ जना खेलाडी छनोट भएका छन्, प्रदेशस्तरीय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने प्रयास गर्छौं”, अध्यक्ष केसीले भने ।
अध्यक्ष केसीका अनुसार जिल्लाभर समग्रमा बेनी नगरपालिका प्रथम भएको छ । स्थानीय तहबाट सहभागी विद्यालयस्तरको स्वर्णसहितको पदक आज वितरण गरिएको छ । असार २३ र २४ गते प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराउने खेलाडी छनोट गर्न जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरिएको थियो । छनोट भएका खेलाडीहरु प्रदेशस्तरीय प्रतियोगिताका लागि पोखरा जाँदैछन् ।