arrow

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बाग्लुङलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
baglung win.jpg

पोखरा । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ को नारासहित पोखरामा असार २३ गतेदेखि सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बाग्लुङ जिल्लाले जितेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरा रङ्गशालामा आज सम्पन्न प्रतियोगितामा समग्रमा १० स्वर्ण, १३ रजत र चार कास्यपदकसहित बाग्लुङले उपाधिसहित रनिङ शिल्डसहित र नगद रु ३० हजार पुरस्कार पायो । 

बागलुङले उशुमा तीन स्वर्ण र दुई रजत, कराँतेमा एक स्वर्ण, दुई रजत र दुई कास्य, तेक्वान्दोमा तीन स्वर्ण र तीन रजत, एथलेटिक्समा दुई स्वर्ण चार रजत एक कास्य, भलिबल छात्रतर्फ एक कास्य र कबड्डी छात्रतर्फ एक स्वर्ण पदक प्राप्त गर्न सफल भयो । 

प्रतियोगितामा नवलपुरले द्वितीय स्थान प्राप्त गरेको छ । नवलपुरले नौ स्वर्ण र छ रजत पदसहित उपविजेता बन्दा स्याङ्जाले छ स्वर्ण दुई रजत र दुई कास्य पदक तृतीय स्थान हासिल गरेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए । 

द्वितीय र तृतीय हुन सफल जिल्लाले क्रमशः रु २० हजार १० नगद पुरस्कार प्राप्त गरे । उपविजेता नवलपुरले एथलेटिक्स खेलतर्फ नौ स्वर्ण चार रजत र पाँच कास्य पदक, कराँतेमा एक रजत, तेक्वान्दोमा एक रजत र एक कास्य तथा कबड्डी छात्रातर्फ एक कास्य पदक प्राप्त गरेको थियो ।

यसैगरी स्याङ्जाले एथलेटिक्समा पाँच स्वर्ण, दुई रजत र एक कास्य, कराँतेमा एक कास्य तथा भलिबल छात्र÷छात्रा तर्फ एक÷एक स्वर्ण प्राप्त गर्न सफल भएको आयोजकले जनाएको छ । 

प्रतियोगितामा विजेता टिम तथा खेलाडीलाई गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ(दीपक मनाङे), प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारी, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली, अग्रज खेलाडी खड्गबहादुर रानाभाट लगायतले ट्रफी, मेडल, नगद र प्रमाणपत्र वितरण गरे ।

प्रतियोगितामा गण्डकी प्रदेशका मनाङबाहेक १० जिल्लाका ५७४ खेलाडीको सहभागिता थियो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उशु गरी छ खेलमा पदकका लागि प्रतिस्पर्धा भएको हो । 

प्रतियोगिताबाट राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डका लागि विभिन्न छ खेलका लागि १११ खेलाडी छनोट गरिएको छ । छनोट भएका खेलाडीलाई दुई दिनसम्म पोखरामा बन्द प्रशिक्षणमा राखिने छ । राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही असार २८ देखि ३० गतेसम्म काठमाडौँमा सञ्चालन हुँदैछ । 



नयाँ