- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा हुने बताएका छन् ।
नवौँ राष्ट्रिय खेलकुदको मूल आयोजक कमिटी बैठकमा उनले यसअघि कोभिड-१९, विद्यार्थीको परीक्षा, सार्वजनिक खरिद एनेलगायत विभिन्न समस्याले तोकिएको समयमा हुन नसकेको भन्दै यसपटक भने तोकिएकै समयमा प्रतियोगिता आयोजना गर्दै खेलाडीलाई खुसी प्रदान गर्ने बताए ।
उनले आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छिटोभन्दा छिटो खेलाडीको छनोट गर्ने र केही कमी रहेका खेल पूर्वधारको व्यवस्थापनका लागि गृहकार्य गर्ने बताए । यसअघि उक्त प्रतियोगिता गत जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुने तालिका थियो ।
यस्तै, खेलकुदमन्त्री गहतराजको अध्यक्षतामा आज बसेको बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङको संयोजकत्वमा उक्त प्रतियोगिताको लागि कार्यकारी समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले उक्त प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र एनआरएन गरी ११ वटा टोलीको सहभागिता गराउने र विभिन्न ३६ वटा विधामा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि कार्यकारी समिति गठन गर्ने, १४ वटा उपसमिति गठन गर्ने, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितादेखि लागुहुने गरी मुख्य ट्रफि निर्माण गरिने र उक्त ट्रफिलाई विभागीय टोलीसँगै सात वटै प्रदेशमा टुरमा लैजाने निर्णाय गरेको छ । बैठकले उक्त प्रतियोगिताको लागि रु ६० करोड बजेट स्वीकृत गर्ने निर्णय गरेको छ ।