- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले पछिल्लो केही दिनयता आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने नियतले विभिन्न संचारमाध्यममा समाचार आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उनले प्रेस विज्ञप्ति जारी गर्दै ‘कुनै आधार र प्रमाणबिनाका एकै व्यहोराका कपोलकल्पित, मनगढन्ते, तथ्यहीन र भ्रामक समाचाररुपी अफवाह नियोजित ढङ्गले निरन्तर प्रकाशन एवं प्रशारण हुनु खेदजनक छ’ भनेका छन् ।
मन्त्री श्रेष्ठले आफूले आगामी आर्थिक वर्षको बजेट निर्माणमा आफ्नो कुनै पिन प्रत्यक्ष भूमिका र संलग्नता नभएको स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘म आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्ने क्रममा पूर्ण जवाफदेही रहँदै आएको छु । मैले आफ्नो पदको दुरुपयोग गरेको छैन र सार्वजनिक निगरानीमा सधैं खडा रहेको छु ।
आफू कुनै लाभ हासिल गर्ने अभिष्ट बोकेर राजनीतिमा प्रवेश नगरेको भन्दै उनले चार दशकभन्दा लामो आफ्नो व्यवसायिक जीवनको ज्ञान र अनुभवबाट सरकारमा रहेर मुलुकको विकास एवं समृद्धिका लागि योगदान गर्ने अभिप्रायले राजनीतिमा लागेको पनि उल्लेख गरेका छन् ।
मन्त्री श्रेष्ठले संसदमा रहेर आफूले लगानीमैत्री वातावरण निर्माणका लागि कानूनी सुधारका पक्षमा भूमिका निर्वाह गरेको पनि बताएका छन् ।
उनले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा रहेर आफूले कोभिड–१९ महामारीको समयमा स्वास्थ्य सामग्री तथा खोपको आपूर्ति एवं वितरणलाई व्यवस्थि तगर्न निर्वाह गरेको भूमिका सबै सामु छर्लङ्ग भएको पनि स्पष्ट पारेका छन् ।
उनले अन्त्यमा भनेका छन्, ‘म आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्दा सदैव सचेत र जवाफदेही रहँदै आएको छु । यसक्रममा सञ्चारक्षेत्र, नागरिक समाज र समाजका सबै तहतप्काबाट प्राप्त सुझाव, प्रतिक्रिया र आलोचनालाई मैले सदैव सहृदयतापूर्वक आत्मसात गर्दै त्यसलाई पृष्ठपोषणको रुपमा ग्रहण गर्ने गरेको छु । तर हुँदै नभएका काल्पनिक कथा बुनेर समाजलाई दिग्भ्रमित तुल्याउने यस्ता कार्यप्रति म खेद व्यक्त गर्दछु र ती काल्पनिक कथालाई प्रमाणित गर्नु हुन आग्रह पनि गर्दछु । साथै, मैले आफ्नो पदको दुरुपयोग गर्दै गलत काम गरेको प्रमाणित भए राजनीतिक यात्रामा पूर्णविराम लगाउने प्रणसमेत गर्दछु ।’